Sun. Mar 16th, 2025 07:59:35

सन् १९५० को सन्धिमा हामी जे जे हटाउन चाहान्छौं भारत त्यही त्यही राख्न खोज्छ : हिरण्यलाल श्रेष्ठ

काठमाडौं, २०७६ पुष ४ गते शुक्रबार ।

वरिष्ट लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले भारत नेपालसँग सार्वभौम एवम् स्वतन्त्र मुुलुकको हिसाबले सन्धि गर्न तयार नभएको बताउनु भएको छ । म्यानेजमेन्ट एशोसिएशन नेपाल मान कमलादीले शनिवार आयोजना गरेको विचार गोष्ठीमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै श्रेष्ठले भन्नु भयो “ भारतसँग सन् १९५० मा भएको असमान सन्धिका जुन जुन धारा र बुँदा हामीे हटाउन चाहान्छौं भारत त्यही त्यही राख्न खोज्छ ।”


भारतले हालै जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा र कालापानी लगायतको भूभागलाई भारतीय भूमी भनि देखाईएकोमा सर्वत्र विरोध भएको भन्दै लेखक श्रेष्ठले भन्नु भयो “भारतबाट नक्सा अतिक्रमण भएपछि नेपालको तर्फबाट पनि दावी अनुसारको नक्सा निकाल्नु पथ्र्यो त्यो भएन ।” सरकार यसमा चुक्यो । कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमिमा सरकारको उपस्थिती नहुनु दूर्भाग्यपूर्ण भएको भन्दै वहाँले यसमा सबै भन्दा ठूलो कम्जोरी गृह मन्त्रालय र नापी विभागको रहेको पनि आरोप लगाउनु भयो । नेपालको सार्वभौमिकता र स्वतन्त्रताका विरुद्धमा समय समयमा भारतबाट हुने हस्तक्षेपका विरुद्ध सरकारलाई खवरदारी गर्नुपर्ने भन्दै श्रेष्ठले यस विवादको समाधानको लागि कर्मचारी तहबाट नभएर राजनीतिक तहबाटै वार्ता गर्नुपर्नेमा जोडदिनु भयो ।

नेपालले माधव नेपालको नेतृत्वमा वार्ताको लागि टोली पठाउने तयारी गरे पनि भारत कुरा समेत गर्न तयार छैन श्रेष्ठले भन्नु भयो । “कालापानी र लिम्पियाधुराको लालपूर्जा हामीसँग छ, भारतले खोसेर मात्र लगेको हो, लाल पुर्जा जसको हो उसैले भोग गर्छ यो विश्व व्यापी मान्यता हो श्रेष्ठले भन्नु भयो ।”  लम्पियाधुराबारे कुरा उठ्दा आफुले सँधै नेपाल, भारत र चीन सहितको त्रिपक्षीय वार्ता गर्न सम्बन्धित पक्षलाई सुझाव दिँदै आएको भन्दै श्रेष्ठले भन्नु भयो “लिम्पियाधुरा लगायतका केही क्षेत्रमा जिरोे पिल्लरको निर्णय भएको छैन त्यसको टुंगो लगाउन तीन देशकै सहमती आवश्यक छ । ”

भारत आफ्नो विस्तारवादी नीति अन्तर्गत पानीसँग जोडीएको नेपालसँगको सीमारेखालाई जमिनबाट जोड्ने रणनीतिमा लागेको भन्दै श्रेष्ठले अब भारतको तावेदार नभई दरोसँग कुरा गर्ने वेला आएको बताउनु भयो । श्रेष्ठले भन्नु भयो “सत्रुता भएका वेला कालापानीमा बस्यौं, अब चीनसँग तिमीहरुको मित्रता छ, त्यसैले कालापानीबाट सैनिक क्याम्प हटाउ भनेर भारतलाई नेपाल सरकारले भन्न सक्नु पर्छ । ”

सन् १८१६ देखि १८५८ सम्मको नक्सामा लिम्पियाधुरा नेपालतर्फ देखाईएको जानकारी दिनुहुँदै श्रेष्ठले चीन विरुद्ध भारत र अमेरिकाले बाटोको राजनीति गरेको आरोप पनि लगाउनु भयो । “ महाकाली सन्धिमा महाकाली नदीको पानीको श्रोत टुंगो लगाएको भए लिम्पियाधुरा र सुस्ता लगायतका सबै समस्याको समाधान हुन्थ्यो । त्यो हुन सकेन, तर अब नेपाली भूमी फिर्ता लिन भारतसँग दरोसँग बार्ता गर्नुको विकल्प छैन, श्रेष्ठले भन्नु भयो ।”

Facebook Comments