Thu. May 16th, 2024

अमेरिकी संसद्‌मा दङ्गा: आफूलाई भिडद्वारा मारिने डर लागेको प्रहरी अधिकृतको भनाइ

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । अमेरिकी संसद्‌मा गत ज्यानुअरीमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूद्वारा निम्त्याइएको दङ्गाका बेला क्यापिटल भवनको सुरक्षामा खटिएका एकजना प्रहरी अधिकृतले त्यसबेला “आफू भिडद्वारा मारिन्छु” जस्तो लागेको बताउनु भएको छ ।

उक्त घटनाबारे छानबिन गरिरहेको संसदीय समितिसमक्ष उहाँले यस्तो बयान दिनु भएको हो । उक्त घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएको कङ्ग्रेसनल कमिटीले वासिङ्टन डिसीमा सुरु गरेको छानबिनका क्रममा एक्विलिनो गोनलले उक्त घटनामा “आफू अब यसरी नै मर्ने रहेछु” जस्तो लागेको बताउनु भयो।

अर्का एकजना अश्वेत अधिकृत ह्यारी दुनले आफूलाई रङ्गभेदी तरिकाले दुर्व्यवहार गरिएको बताउनु भएको छ ।

उक्त घटनामा कम्तीमा ५३५ व्यक्तिहरूलाई पक्राउ गरिएको थियो भने एक जना प्रहरी अधिकृतसहित पाँच जनाको निधन भएको थियो। अभियोजनकर्ताहरूले हालसम्म केहीमाथि मात्र अभियोग पुष्टि गर्न सकेका छन्।

उक्त घटनाका कारण रिपब्लिकन राष्ट्रपति ट्रम्पले महाअभियोगको सामना गर्नु परेको थियो।

सांसदहरूले उहाँमाथि उक्त घटनाका लागि उक्साएको आरोप लगाएका थिए। त्यसलाई ट्रम्पले बारम्बार अस्वीकार गर्नुभएको थियो । अधिकांश रिपब्लिकनहरूले बहिष्कार गरेपछि उक्त समितिमा लगभग सबै छानबिनहरू डेमोक्र्याटहरूबाट गरिँदैछ। यद्यपि रिपब्लिकनहरू लिज चेनी र एडम किन्जिङरले जाँचलाई साथ दिँदै उक्त समितिमा बस्नु भएको छ । बीबीसी

Facebook Comments