Fri. Apr 26th, 2024

अस्ट्रेलियाका विभिन्न सहरमा लकडाउनको विरोधमा प्रदर्शन, प्रधानमन्त्री स्कट मोरिसनद्वारा निन्दा

काठमाण्डौं, २०७८ साउन १० गते आईतबार । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिवार सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा आयोजित लकडाउनविरोधी ठूला प्रदर्शनको निन्दा गर्नुभएको छ । उहाँले प्रदर्शनका सहभागीहरूलाई “स्वार्थी तथा स्वयं पराजित व्यक्ति” को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम लिएको बताउनु भयो।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको बताउनु भयो।

न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताउनु भएको छ । विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड-१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ।

सिड्नीमा भएका प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका थिए। मेल्बर्न र ब्रिस्वेनमा साना प्रदर्शनहरू भए। प्रदर्शनका क्रममा मानिसहरू ‘स्वतन्त्रता’ भन्दै सिड्नीको केन्द्रतर्फ अघि बढेका थिए।

अधिकारीहरूका अनुसार ५७ प्रदर्शनकारी पक्राउ परेका छन्। अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।

अतिसङ्क्रामक डेल्टा भेरिअन्टको आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ।

विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन्। न्यू साउथ वेल्सको स्वास्थ्य निकायले सिड्नी क्षेत्रलाई कोभिड ‘हटस्पट’ घोषणा गरेको केही बेरमै मानिसहरूले त्यहाँ र्‍याली निकालेका थिए।

कतिपयले ‘मास्क झारेर ठूलो स्वर पार’ र ‘अस्ट्रेलिया जाग’ जस्ता नारा लगाएका थिए। प्रदर्शनकारीले सडकमा अवरोध गरेका थिए र सिड्नी टाउन हलअगाडि भेला भएका थिए। एउटा समूहले घोडासवार प्रहरीलाई बोतल प्रहार गरेका थिए। बीबीसी

Facebook Comments