Tue. Apr 23rd, 2024

जनता भएर बाँच्न कत्ति गाह्रो हुँदो रहेछ

- रोशन केसी

काठमाण्डौं, २०७८ साउन ७ गते बिहीबार ।

-रोशन केसी

कुनै बेला म राजा थिँए
मेरो आफ्नै रियासद थियो
तर अहिले म जनता भएको छु
अहिले बुझ्दैछु,
जनता भएर बाँच्न कत्ति गाह्रो हुँदो रहेछ ।

शासकले कान थुनिदिंदा
आँखा बन्द गरेर सबै हेरिदिंदा
आफ्नो लाचारीलाइ निल्लर्जता छोपिदिंदा
कुशासनको सत्तामा लिप्प भइ बाघडोर समालिदिंदा
साह्रै गाहे हुने रहेछ नी जनतालाई
झुटा आश्वासनको बोझले थिचिदिंदा
निस्सासिदो रहेछ नी
तिनको सास
ज्यूँदै मर्दा रहेछ्न बिचाराहरु
मैले राजा बनेर प्रजालाइ हेरिदिंदा
त्यही भएर नै होला
गर्जिए जनता
उर्लिए सबै
अनि बनाईदिए मलाई पनि जनता
भने बाँचेर देखा हामी जस्तैगरी
देश हामी चलाम्ला
छानिए तिनै पिल्सिएका
पिछडिएकाहरुको समुहबाट एक थान नयाँ राजाहरु
लाग्यो अब बन्नेछ देश
आयो जनताको शासन
आउनेछ जनताको दिन
तर
फेरि जनता भन्दैछ्न, सुन्ने कोहि छैन
फेरि जनता देखाउदैछ्न पिर, तर हेर्ने कोही छैन
फेरि चुलिदैछ, कुशासनको संस्कार
फेरि दोहोरिदैछ, पुरानै शोषणको नजिर

सायद सत्ताको शत्ती नै यस्तै हुने रहेछ
जसले पायो, त्यसले जनताले भनेको नसुन्ने
जनताको दुख, संघर्ष अनि बेदना नदेख्ने
कुव्यवस्था नै जनताको शासन ठान्ने
पछोटेपनलाइ नै प्रगती मान्ने
विनाशलाई बिकास झै अर्थाउने
सत्ताको शत्ती नै यस्तै हुँदोरहेछ
जनतालाई जनता नै नदेख्ने

एक पटक फेरि लाग्दैछ
अहिलेका राजाहरुलाई पनि जनता बनाउनु पर्यो
जनताबाटै राजा बनेका तिनले बिर्सिए झै लाग्यो
जनता भएका बाँच्न कति गाह्रो हुन्छ भनेर
पालो आयो झै लाग्दैछ,
अहिलेका राजाहरुलाई फेरि याद दिलाउने
जनतालाई सास फेर्न गार्हो भैसक्यो
समय यहि नै हो
यी राजाहरुलाई बुझाउने र बिगतसँग नजिक
गराउने
महाराज,
जनता भएर बाँच्न साह्रो गाह्रो हुन्छ
धेरै गाह्रो हुन्छ
कृपया बुझ्नु न ल
म जस्तै अबुझ, अघोगी अनि अत्याचारी नबन्नु ल
तपाइलाई त थाहै छ
जनता भएर बाँच्न कत्ति गाह्रो हुन्छ भनेर
म पनि कुनै बेला राजा थिँए
अहिले बुझ्दैछु
जनता भएर बाँच्न कत्ति गाह्रो हुने रहेछ
तपाईँहरुको उहीँ राजाबाट जनता बनेको शुभ चिन्तक
कुनै बेला म पनि राजा थिए ।

(डकुमेन्ट्री सुहाउँदो आवाजका धनी रोशन केसी रे न्यूज डेलीमा कार्यरत सृजनसिल सञ्चारकर्मी हुँनुहुँन्छ ।)

Facebook Comments