Sat. Apr 20th, 2024

आज पुष्पलाल स्मृती दिवस

काठमाण्डौं, २०७८ साउन ७ गते बिहीबार ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदै छ । वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा पुष्पलाल श्रेष्ठको जन्म भएको थियो । स्वर्गीय पुष्पलालले वि.सं.२००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो ।

पुष्पलाल श्रेष्ठ राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका सहोदर माइला भाइ हुनुुहुन्थ्यो । पुष्पलाल श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई वि.सं. २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिनु भएको थियो ।

वि.सं. १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई राणाहरुले गोली ठोकी मार्नु भन्दा ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न पुष्पलाल जानुभएको थियो । गंगालालले उहाँलाई भन्नुभएको थियो, “माइला” मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्ज्वलित गर्नेछस्, निभ्न दिने छैनस् ।”

त्यतिबेला उहाँ १६ वर्षको कलिलो उमेरको हुनुहुन्थ्यो । दाजुको त्यही भनाई राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बन्यो । वि.सं. १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो । पुष्पलालले वि.सं. २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो । उहाँले आफ्नो  जीवनको सम्पूर्ण उर्जाशिल सयम खर्चिएर जीवनलाई नै दाउमा राख्दै स्थापना गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी  विभिन्न चरणमा सत्ता र गुटगत स्वार्थमा लागेर अहिले विभिन्न टुक्रामा विभाजन भएको छ । २०७७ साल पुस ५ गते तत्कालिन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नुभएपछि नेपाल कम्युनिष्ट पार्टी कहिल्यै ठडिन र कहिल्यै जोडिन नसक्ने गरी तीन टुक्रामा विभाजन भएको छ । यो विभाजनले नेपाली जनताको जनवाद स्थापना गर्ने सत्तरी वर्ष भन्दा पुरानो सपना चकनाचुर भएको छ ।

निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने पुष्पलाल पहिलो नेता हुनुहुन्थ्यो । नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना गर्नुभएका पुष्पलालको  ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।

Facebook Comments