Fri. May 17th, 2024

माधव नेपाल समूहका ७ जना सांसदको नाम मन्त्री बनाउन बालुवाटार पुग्यो

काठमाण्डौं, २०७८ साउन ५ गते मंगलबार । शेर बहादुर देउवाको सरकार टिकाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेको माधव नेपाल समूहले सो समूहको तर्फबाट सरकारमा सहभागी हुने ७ जना सांसदहरुको नाम प्रधानमन्त्री निवास बालुवाटारमा पठाएको छ ।

प्राप्त जानकारी अनुसार माधव समूहबाट सरकारमा सहभागी हुन सोम प्रसाद पाण्डे, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, जीवन राम श्रेष्ठ, यज्ञ राज सुनवार र बेदुराम भूषालको नाम माधव नेपालले प्रधानमन्त्री देउवालाई पठाउनु भएको हो ।

मन्त्रीका लागि सिफारिस सातै जना सांसदलाई मन्त्री बनाउने सम्भावना कम भए पनि ५ वा ६ जना सांसदलाई प्रधानमन्त्री देउवाले मन्त्री बनाउने सम्भावना भने रहेको वालुवाटार श्रोतले बताएको छ । आफ्नो सरकार टिकाउन पनि देउवाले माधव नेपालबाट सिफारिस भएका नामहरु अस्विकार गर्ने सम्भावना देखिन्न ।

माधव नेपाल समूहका अरु नेताहरु भने अहिले देउवा सरकारमा जान हतार हतार नाम दिएकोमा रुष्ट भएको जानकारी प्राप्त भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसंग वार्ता नगरि निष्कर्षमा पुगेर सरकारमा जान हतार गरेकोमा माधव नेपालसंग नेता भीम रावल, योगेश भट्टराई लगायत रुष्ट हुनुभएको हो ।

यसैबीच एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । हिजो सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Facebook Comments