Mon. Apr 29th, 2024

प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीकाे निर्णय

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग पनि आग्रह गर्ने बैठकले निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित स्थायी किमिटी बैठकमा एमालेले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो । पार्टीको निर्णय प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले के गर्ने विषयमा टुङ्गो लागि नसकेको बताउनुभयो । सो पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको समाचार आफूहरुले पनि सुनेको उहाँले जानकारी दिनुभयो ।

संसदको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कदमले विभिन्न प्रश्न उब्जाएको नेता ज्ञवालीले बताउनुभयो । आफूहरु यसअघि नै प्रतिपक्षी भूमिकामा रहने निर्णय गरिसकेको र आजको बैठकले पनि त्यही निर्णय गरेको उहाँले बताउनुभयो । सम्भव भएका अन्य दललाई पनि विश्वासको विपक्षमा मत हाल्ने आग्रह गर्ने निर्णय बैठकले गरेको प्रक्ता ज्ञवालीले बताउनुभयो ।

“नेता नेपालले एक्लै भए पनि आफूले प्रस्तावको पक्षमा मत हाल्ने बताउनुभएको छ, उहाँलाई जे उचित लाग्छ त्यही गर्नुहोला” प्रवक्ता ज्ञवालीले भन्नुभयो, “पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने विषयमा नेता नेपाल इच्छुक देखिनुभएन, सो विषयमा पनि बैठकमा छलफल भयो ।” एमालेजस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका महन्थ ठाकुरपक्षले विपक्षमा मत हाल्ने घोषणा गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments