Sat. May 18th, 2024

सङ्घीय संसद्को चालु अधिवेशनमा प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतबारे छलफल

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार । सङ्घीय संसद्को चालु अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागे लगत्तै सो मतबारे व्यापक छलफल भैरहेको छ । सो प्रस्तावको पक्ष र विपक्षमा विभिन्न दलका नेताहरुले दलको धारणा राख्नु भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड

छलफलमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उहाँले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गर्नुभयो ।

उहाँले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गर्नुभयो । ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लण्डर गर्दै हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’

प्रचण्डले अडाडी भन्नुभयो, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’

प्रदीपकुमार ज्ञवाली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले संसदीय राजनीतिमा विकृति दोहोरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै उहाँले विगतमा पनि नेपाली कांग्रेस र एमालेका आफ्नै सांसद्ले मत नदिँदा ती पार्टी नेतृत्वका सरकार ढलेर संसदीय राजनीतिमा विकृति भित्रिएको स्मरण गर्नुभयो ।

“प्रश्न को सरकारमा गयो वा गएन भन्नेमा होइन, प्रश्न संसदीय प्रणाली बलियो भयो कि भएन भन्ने हो । सही खेल भयो कि भएन भन्ने हो”, एमालेका प्रवक्ता ज्ञवालीले भन्नुभयो । उहाँले भन्नुभयो, “विसं २०५२ मा प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएका बेला सदनमा आएर अविश्वासको प्रस्तावमाथि जवाफसमेत दिन नपाई हटाइएको थियो ।”

उहाँले आफ्नो पार्टीलाई अप्रिय लागे पनि अदालतको फैसला आफूहरूले मान्ने तर शक्ति पृथकीकरणको राज्यको परिकल्पनामा खलल पर्न गएको टिप्पणी गर्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राष्ट्रियता, शान्तिपूर्ण राजनीतिको यात्राको थालनी, विकास र समृद्धिका क्षेत्रमा गरेका कामलाई जनताले सम्झिइरहने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय राजनीतिका लागि दूरगामी प्रभाव पर्ने खालको भएकाले एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नसक्ने स्पष्ट गर्नुभयो ।

डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताउनु भएको छ । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको उहाँले बताउनु भयो ।

‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो,’ उहाँले भन्नुभयो, ‘हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’

पूर्वप्रधानमन्त्री भट्टराईले प्रतिगमनकारीको खड्ग प्रहारबाट मुर्छित बनेको प्रतिनिधिसभा र मुर्छित बनेका सांसदहरु फेरि ब्युँतिएको बताउनु भयो ।

उहाँले त्यसका लागि सर्वोच्च अदालत, नागरिक समाज र मिडियालाई धन्यवाद दिनुभयो । अहिलेको संविधान आधा भरिएको र आधा खाली अवस्थामा रहेको भन्दै नेता भट्टराईले खाली गिलास भर्नुपर्नेमा झन् निवर्तमान प्रधानमन्त्री ओलीले आधा भरिएको गिलास पनि रित्याउन खोजेको आरोप लगाउनु भयो ।

डा. मीनेन्द्र रिजाल

नेपाली कांग्रेका नेता डा. मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि पेश गर्नुभएको प्रस्तावको पक्षमा मत जाहेर गर्दै उहाँले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “अदालतले प्रधानमन्त्रीले नियुक्त गरेको नभई कानूनी राज्य र लोकतन्त्र कायम राख्नुपर्छ भनेर निर्णय सुनाएको हो, अदालतले गरेको निर्णयलाई विशिष्ट तागतका रूपमा बुझ्न जरुरी छ ।”

कांग्रेसले विपक्षको सकारात्मक आलोचना र टीकाटिप्पणीलाई सदासर्वदा सम्मान गर्ने बताउँदै पूर्वमन्त्री रिजाले भन्नुभयो, “नेका निर्वाचनमा हुने हारलाई सहर्ष स्वीकार्ने लोकतान्त्रिक दल हो, लोकतान्त्रमा विश्वास राख्नेलाई कांग्रेसले असहमत हुनेलाई पनि सम्मान गर्न सिकाउँछ ।”

उहाँले हामी सबै मिलेर बनाएको संविधान र लोकतन्त्रको पाङ्ग्रा एउटा पक्षले भत्काउँदा ठीक हुने तर अहिले पाखा लगाउँदा गलत हो भन्ने तर्क आफैँमा बेठीक भएको बताउनुभयो ।

 

Facebook Comments