Sat. Apr 27th, 2024

अनुसन्धान लेखन अभिमुखीकरण विषयक वेबिनार गोष्ठी आयोजना

काठमाण्डौं, २०७८ साउन २ गते शनिबार । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा बिहीबार (असार ३१) प्रज्ञा भवनमा वेबमिनारका माध्यमबाट ‘अनुसन्धान लेखन अभिमुखीकरण’ विषयक विचार गोष्ठीको आयोजना गरियो ।  कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी बेवमिनार गोष्ठीको समुद्घाटन गर्नुभएको थियो ।

‘अनुसन्धान लेखन अभिमुखीकरण’ विषयक वेबिनार गोष्ठीलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले भन्नुभयो, “अनुसन्धान लेखनसम्बन्धी निर्दिष्ट शैली पुस्तिका आवश्यक देखिएको छ, विज्ञको सहयोग लिएर प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा शैली पुस्तिका बनाउने योजना अघि बढाएको छ । अब त्यो कार्य चाँडै सम्पन्न हुनेछ ।” उहाँले प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित तथा प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’द्वारा लिखित अनुसन्धान विधिबारेको पुस्तक झण्डै झण्डै शैली पुस्तिका जस्तै रहेको उल्लेख गर्दै प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा नेपाली शैक्षणिक व्याकरण तयार पारेको र सो पुस्तक आगामी हप्ता सार्वजनिक गर्न लागिएको जानकारी दिनुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले अनुसन्धानकै विषयमा यसअगि दुईओटा गोष्ठी सम्पन्न भएको बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले मानक वर्ण विन्यास निर्माणका साथै विगतका त्रुटी सच्याएर एक लाख ५० हजार शब्दको नेपाली बृहत् शब्दकोष निर्माण गरिरहेको जानकारी दिनुभयो । सदस्य सचिव उपाध्यायले भन्नुभयो- “अनुसन्धान पद्धतिको शैली पुस्तिकाका लागि आवश्यक तयारी भइरहेको छ । अमेरिका,बेलायत, चीन लगायतका देशको आफ्नै अनुसन्धान पद्धति छ भने नेपालको किन हुन सक्तैन भनेर हामीले शीघ्र विज्ञ सम्मिलित कार्यशाला नै गरेर त्यसैको निष्कर्षका आधारमा शैली पुस्तिका निकालेर अनुसन्धानमा एकरुपता कायम गर्ने योजना बनाएका छौँ ।”

समारोहमा स्वागत मन्तव्य राख्नु हुँदै प्रज्ञा-प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख एवम् प्रज्ञा विज्ञसमीक्षित शोधपत्रिकाका सम्पादक मण्डल सदस्य प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले प्राज्ञिक संस्था र विश्वविद्यालयमा अनुसन्धान पद्धतिको आ-आफ्नै शैली रहेको सुनाउनुभयो । उहाँले नेपालमा अन्तर्राष्ट्रिय रूपमा प्रचलित शैलीको अनुशरण गरिएको स्पष्ट पार्दै भन्नुभयो, “विज्ञबाट नेपालको आफ्नै अनुसन्धान पद्धति विकासका लागि सुझाव आएको छ तर गर्न सकिएको छैन, अब भने त्यो कार्य गर्नै पर्ने आवश्यकता देखिएको छ ।” प्राज्ञ पौडेलले शीर्षक निर्धारण गर्दा नै समस्याको कथनलाई राम्ररी बुझन् नसकेको, उद्देश्य निर्धारण, सीमाङ्कन गर्न नसकिएको, सही रुपमा सैद्धान्तिक आधार प्रस्तुत हुन नसकेको, आवश्यक प्राविधिक पक्षको समेत ज्ञान नभइरहेकाले वेबिनारमार्फत अनुसन्धान लेखन अभिमुखीकरण गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

गोष्ठी कार्यक्रमका सभाध्यक्ष, प्रज्ञा-प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलले अनुसन्धानमा एकरुपता कायम गर्न र आफ्नै मौलिक विधि बनाउने प्रज्ञा-प्रतिष्ठाको योजना रहेको जानकारी गराउनुभयो । उहाँले विगतमा कोभिड-१९ का कारण कार्यक्रम अधुरै रहेको सुनाउँदै आवश्यक परे अनुसन्धान कार्यशाला गोष्ठी नै आयोजना गर्ने गरी अघि बढेको बताउनुभयो । प्राज्ञ प्रा.डा. पौडेलले भन्नुभयो- “आजको गोष्ठी सार्थक भएको महसुस गरेको छु ।”

बेवमिनार गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. रमेशप्रसाद भट्टराईले नेपालमा पढाइ एकातिर र अनुसन्धान अर्कातिर भएकाले सिकाइसँग अनुसन्धानलाई जोड्ने अभ्यास नै हुन नसकेकोमा चिन्ता प्रकट गर्नुभयो । अनुसन्धान ज्ञान निर्माणको पद्धति भएको उल्लेख गर्दै उहाँले त्यसमा नयाँ कुरा उधिन्न सकिएन भने त्यो अनुसन्धान हुनै नसक्ने जिकिर गर्नुभयो । प्रा.डा. भट्टराईले अनुसन्धान के हो, कसरी गर्ने, तथ्य सङ्कलन, समस्याको कथन, अनुसन्धान पद्धति, शीर्षक चयन कसरी गर्नेलगायतका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । अनुसन्धानलाई संस्कृतिको रूपमा विकास गर्नु पर्नेमा जोड दिँदै भट्टराईले शीर्षकलाई सान्दर्भिक बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “शीर्षकलाई जबरजस्त चयन गरेका हुन्छौँ तर त्यसले अनुसन्धान संस्कृतिको विकास गर्दैन ।”

उक्त समारोहमा अनुसन्धान पद्धतिका विषयमा विभिन्न जिल्लाबाट सहभागीले उठाएका जिज्ञासाको कार्यपत्र प्रस्तुतकर्ता प्रा.डा. भट्टराईले जवाफ दिनुभएको थियो । समारोहमा कार्यपत्रमाथि बाग्लुङ, सुनसरी, धनकुटा, काठमाडौँ, बाजुरा, दार्चुला, दाङ, चितवनलगायतका जिल्लाबाट सहभागीहरूले जिज्ञासा राख्नुभएको थियो । कार्यक्रम प्रज्ञा विज्ञसमीक्षित शोधपत्रिकाका कार्यकारी सम्पादक डा. बालाकृष्ण अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments