Sat. Apr 20th, 2024

एमालेले बोलायो स्थायी कमिटी बैठक, नेपालपक्षलाई पनि खबर

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार ।  नेकपा (एमाले) ले स्थायी कमिटीको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बैठक बोलाइएको हो ।

सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आफ्नै पार्टीका २३ सांसदको निर्णायक भूमिकाले सरकारबाट बाहिरिनु भएका अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व नेपालले गरेको भन्दै उहाँलाई पार्टीमा स्थान नभएको उद्घोष गरिसक्नु भएको छ ।

बुधबार आफ्नो निजी निवास बालकोटमा ओलीको यस्तो उद्घोष आएपछि एकता लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएको छ । यद्यपि कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले तत्काल पार्टी कमिटी र संसदीय दलको बैठक रोकेर अनौपचारिक छलफल अगाडि बढाउन संस्थापन पक्षलाई सुझाव दिएका थिए ।

तर, उनीहरुको सुझावलाई बेवास्ता गर्दै ओलीसँगको परामर्शमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनु भएको हो । एमालेले शुक्रबार नै ३ बजे दलको बैठक पनि बोलाएको छ । कान्तिपुर अनलाईन

Facebook Comments