Mon. Nov 18th, 2024

बहसभित्र अमेरिकी प्रजातन्त्र र चिनियाँ प्रजातन्त्र -हिरण्यलाल श्रेष्ठ

काठमाण्डौं, २०७८ असार २९ गते मंगलबार । 

अमेरिकी प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ?

अमेरिकी प्रजातन्त्र पूँजीवादी प्रजातन्त्र हो । स्वतन्त्र तथा प्रतिष्पर्धात्मक शासन अमेरिकी प्रजातन्त्रको स्वरुप हो । निजि स्वामित्व र वजारमुखी अर्थतन्त्र भएको प्रजातन्त्र नै अमेरिकी प्रजातन्त्र हो । जहाँ समाजको स्वामित्व भन्दा पनि पूजीपतिहरुको स्वामित्व बढी हुन्छ । अमेरिकी प्रजातन्त्रमा पूजी नै सर्वोपरी हुन्छ भन्दा पनि फरक पर्दैन । अर्थतन्त्रको विकास अमेरिकी प्रजातन्त्रको मूलभूत लक्ष्य हो । अमेरिकामा फ्रि कम्पीटिसनमा जानुपर्छ । सक्नेले बढी कमाउछ सानदार ढंगले बस्छ भने नसक्ने हराउछ, मेटिन्छ । मूल्य मान्यता, सोच र प्रार्थमिकतामै धेरै फरक छ अमेरिकी र चिनियाँ प्रजातन्त्रकाबीचमा । यही सोचका कारण अमेरिकाले चीनको व्यवस्था प्रति दशकौंदेखि पूर्वाग्रह राखेको छ र मानव अधिकारलाई चीनमाथि हस्तक्षेप गर्ने माध्यम बनाएको छ । यो नै दुई देशकोबीचको मूल फरक हो ।

चिनियाँ प्रजातन्त्र कस्तो हो नी ?

चिनियाँ प्रजातन्त्र समाजवादी प्रजातन्त्र हो । चीनको शासन प्रणालीमा पार्टीको पकड बलियो हुन्छ । सामूहिक चासोलाई चिनियाँ प्रजातन्त्रले विशेष जोड दिन्छ । चिनियाँ प्रजातन्त्रमा समाजको स्वामित्व रहन्छ । हुन त उदारवादी नेता तंग स्याओ फिंग र वर्तमान राष्ट्राध्यक्ष सि चिनफिंगले वजारमुखी अर्थतन्त्रलाई जोड दिनुभएको छ र बाहिरको लगानी पनि भित्रियाईएको छ । जसले गर्दा विदेशी प्रविधि भित्रियाउन चीन सफल भएको छ ।  त्यसैले यो समाजवादी प्रजातन्त्रको सिद्धान्त चिनियाँ विशेषता सहितको समाजवाद हो । चिनियाँ विशेषतायुक्त प्रजातन्त्र हो ।

अहिले पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्रकोबीचमा निक्कै ठूलो र चर्को प्रतिस्पर्धा चलिरहेको छ । अहिले कोभिड नियन्त्रण गर्न चीन जसरी सफल भएको छ खासगरी भ्याक्सीन उत्पादन र वितरण त्यसैगरी अन्तरिक्ष विज्ञानमा पनि चीनले ठूलो फड्को मारेको छ, चीनले यस क्षेत्रमा निक्कै प्रगति गरिसकेको छ, प्रविधिमा चीनको विकास उपल्लो तहको छ । यसैले समृद्धिका लागि समाजवादी प्रजातन्त्रको प्रयोग चीनको विशेषता हो र यो विशिष्ठ प्रयोग पनि हो ।

केही दिन पहिले आयोजना गरिएको जि सेभेन र नेटोको बैठकमा अमेरिकी राष्ट्रपति बाइडेनले चीनका विरुद्धको एकतालाई थप मजबुत बनाउनु पर्ने बताउनु भएको थियो। चीनले प्राप्त गरिरहेको उपलिब्ध र आर्थिक विकासलाई अब अमेरिका एक्लैले थेग्न सक्दैन भनेर नै यस्ता गठबन्धनहरु भैरहेका हुन् भन्न सकिन्छ।

त्यसैगरी बिआरआईको बढ्दो लोकप्रियताबाट झस्किएको अमेरिकाले बिआरआईको विरुद्धमा बि थ्रि लाई ल्याउन खोजेको छ । त्यसैले शासन प्रणाली मै फरक छ अमेरिका र चीनकाबीचमा । चीनले राजनीतिक हकमा मात्र होइन सामाजिक, साँस्कृतिक र आर्थिक हकको रक्षा गर्छ । त्यसैगरी धनी र गरिवबीचको खाडल पुर्र्न प्रयास गर्छ । सम्पूर्ण जनताको समृद्धिको रक्षा चीनले गर्छ । तर अमेरिकामा त्यस्तो छैन । अमेरिकामा फ्रि कम्पीटिसनमा जानुपर्छ । सक्नेले बढी कमाउछ, सानदार ढंगले बस्छ भने नसक्ने हराउछ, मेटिन्छ । त्यसैले मूल्य मान्यता, सोच र प्रार्थमिकतामै धेरै फरक छ अमेरिकी र चिनियाँ प्रजातन्त्रकाबीचमा ।

चीनले विदेशी प्रविधि भित्रियाउन खुलापनको नीति लागू गरेको हो । त्यसलाई पूजीवाद भन्न मिल्दैन । मैले धेरै पटक चीनको भ्रमण गरेको छु, त्यहाँका मानिसहरुको विचार बुझेको छु । त्यहाँ समाजवादी प्रजातन्त्र छ । चीनले समृद्धिका लागि खुलाबजार अर्थतन्त्र लागु गरेको हो । त्यसैले कसैले चीनमा कम्युनिष्ट शासन प्रणाली छैन भन्छ भने त्यो पनि गलत हो । विकासको नयाँ फड्को मार्न र जनताको जीवनस्तर उकास्नको लागि चीनले प्रयोग गरेको उत्कृष्ट उदाहरण हो यो।

अहिले चीनले अमेरिकालाई आर्थिक विकासको गतिमा उछिन्ने गरि आफ्नो विकासको गतिलाई बढाएको छ । त्यसलाई ब्रेक लगाउने गरी मानवअधिकारको निउ झिक्यो भने चीनको सत्ताविरुद्ध जनतालाई उकास्न सकिन्छ भनेर चीनका केही ठाउँहरु अमेरिकाले उचाल्न खोजेको हो । तर यहाँ बुझ्नु पर्ने कुरो के हो भने हङ्गकङ्गले चीनप्रति बफादार हुनुपर्छ अरुकुरा सामान्य नै हो । तर त्यहाँ बारम्वार गरिने आन्दोलनले हङ्गकङ्गको विकासमा पनि असर परेको छ । अब बल्ल यस विषयमा त्यहाँ समिक्षा हुँदैछ । अहिले पनि ताइवानलाई अमेरिकाले आफ्नो पकडमा राखेको छ तर त्यो चीनको अभिन्न भूभाग हो । चीनको स्वायत्त प्रदेश सिन्च्याङको कुरो के हो भने त्यहाँका युगुर समुदायलाई विभिन्न वहानामा अमेरिकाले उचाल्ने काम गरिरहेको छ । त्यसैले अमेरिका लगायतका देशहरुबाट गरिन्दै आएका यस्ता गतिविधिहरु चीनको विकासको गतिलाई कुन कुन ठाउँमा धक्का लगाउन सकिन्छ भन्ने हिसावले गरिएको हो ।

प्रजातन्त्र र मानवअधिकारको कुरो गर्ने हो भने अमेरिकामा काला जाती र एशियाका अन्य जातिमाथि भेदभाव गरिएको छ । कालाजातीमाथि हिंसा पनि भएको छ । अफ्रिकी अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मे महिनामा मिनिआपुलिस सहरमा प्रहरीले नियन्त्रणमा लिएर घाँटी थिचेर हत्या गरेको छ । यो कुरो रसियाका राष्ट्रपति  भ्लादिमिर पुटिनले पनि  अमेरिकी राष्ट्रपति बाइडेन सामु उठाउनु भएको थियो । आफ्नो आङको भैसी नदेख्ने अरुको आङको जुम्रा देख्ने भने जस्तै हो अमेरिकाको मानवअधिकार र प्रजातन्त्रको कुरा । आफ्नो देशमा मानवअधिकारको रक्षा भैरहेको छ छैन ? त्यहाँ सबैजातिको समान रुपमा विकास भाको छ छैन ? मुखले समान प्रजातन्त्र भनेपनि व्यवहारमा त्यो पुरा भएको छ कि छैन ? अमेरिकामा ह्वाइटोकेसी (सेतामा आधारित शासन) देखिएको हो कि होइन ) त्यसैले अर्काको खोट देखाएर अरुको विकासलाई अवरोध गर्ने काम अमेरिकाले छोड्यो भने मात्र खुल्ला प्रतिस्पर्धामा जान सकिन्छ भन्ने  कुरो अब उसले बुझ्न ढिलो गर्नु हुँदैन ।

चीन अहिले प्रविधिको आधुनिकिकरण, वजारको आधुनिकीकरण, उत्पादनको आधुनिकीकरण र अन्तरिक्ष अध्ययनको आधुनिकिकरणमा लागिपरेको छ । चीनको शासन प्रणालीको कुरो गर्ने हो भने चीन कम्युनिष्ट पार्टीको नेतृत्वमा अघि बढिरहेको छ । त्यहाँ एउटा चिनियाँ कम्युनिष्ट पार्टी देखिए पनि त्यसलाई सहयोग गर्ने र परामर्श दिने अनेको पार्टीहरु पनि छन् । चीनमा पार्टीहरुबीच  प्रतिस्पर्धा नभएर सहयोगात्मक भावना छ ।

चिनियाँ राष्ट्रिय जनकंग्रेस चीनको संसद हो भने चीनको शासन सत्तालाई विभिन्न सल्लाह र सुझाव दिने चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको व्यवस्था छ । त्यसैले त्यहाँका झण्डै ६ वटा दलहरुबीच प्रतिस्पर्धा नभएर सहयोगात्मक साझेदारी छ । चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनमा चीनभरीकै विभिन्न वर्ग, क्षेत्र, समुदायका विशिष्ट व्यत्तित्वहरुको सहभागिता रहेको हुन्छ । चीनमा कम्युनिष्ट शासन व्यवस्था भए पनि त्यहाँ गैरकम्युनिष्टहरुको विचारलाई पनि सम्मानका साथ लिने गरिन्छ ।

जनवादी गणतन्त्र चीनको राजनैतिक प्रणालीमा चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको अहं अनि ऐतिहासिक महत्व छ । चीनले निर्धारण गर्ने कतिपय राजनैतिक प्रश्नहरुमा यस निकायले निर्वाह गरेको भूमिका इतिहासका पानामा स्वर्ण अक्षरले लेखिनेछन् । चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका अन्य धेरै पार्टीबीच आपसी सहयोग र राजनीतिक परामर्श उपलब्ध गराउने महत्वपूर्ण संस्था हो । यो नै चीनको राजनीतिक जीवनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो । चीनको राजधानी, राष्ट्रिय झण्डा, राष्ट्रिय धून र इस्वी संवतको प्रयोग सम्बन्धी निर्णय समेत गरिसकेको चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको महत्व कति छ ? त्यो प्रमाणित भैसकेको छ ।

 सन् १९५४ मा चीनको सर्वोच्च राष्ट्रिय आधिकारीक अंग अर्थात राष्ट्रिय जनकांग्रेसको स्थापना भएपछि राजनीतिक परामर्शदात्री सम्मेलनमा नीहित सर्वोच्च राष्ट्रिय आधिकारीक अंगको कार्यकारी अधिकार पनि राष्ट्रिय जनकांग्रेसमा निहित हुन पुग्यो । सर्वोच्च कार्यकारी अधिकार विना पनि यो परामर्शदात्री सम्मेलन देशभक्त एकीकृत मोर्चाको रुपमा भने रहिरहेको छ । चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय सम्मेलनका साथै अन्य विभिन्न स्थानीय समितिहरु समेत रहेका छन् । चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनु अघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु, स्वतन्त्र व्यक्तित्वहरु र विभिन्न जन संगठनहरुले संयुक्त रुपमा स्थापना गरेका हुन् । स्थापना पछि सन् १९४९ को सेप्टेम्बरमा चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठक पैचिंगमा आयोजना गरिएको थियो । सोही बैठकले जनगणतन्त्र चीन स्थापनाको घोषणा गरेको थियो साथै माओ च तोंग अध्यक्ष रहनु भएको केन्द्रीय जनसरकार र राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो राष्ट्रिय समिति पनि निर्वाचित गरेको थियो । राजनीतिक परामर्शदात्री सम्मेलनको मुख्य कार्य नै राजनीतिक परामर्श, जनतान्त्रिक अनुगमन र सरकारी कार्य एवम् राजनीतिमा सहभागी भई छलफल गर्नु रहेको छ । ति मध्ये प्रस्ताव प्रस्तुत गर्नु नै राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरुले सरकारी कार्य एवम् राजनीतिमा सहभागी भई छलफल गर्ने सबै भन्दा प्रत्यक्ष, ठोस र प्रभावकारी तरिका हो । यहाँ विशेष रुपले स्पष्ट पार्नुपर्ने कुरा के हो भने चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र विदेशका सिनेट वा माथिल्लो सभा बीच निक्कै फरक छ ।

चीनको जनराजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातान्त्रिक पार्टी अनि निर्दलीय व्यक्तिहरुबीच आपसी सहयोगको आदान प्रदान, राजनीतिक परामर्श र पारस्परिक अनुगमन गर्ने राजनीतिक संस्था हो । चीनमा लागू रहेको समाजवादी प्रजातन्त्र र पश्चिमी जगतको संसदीय प्रजातन्त्र बीचको मुख्य भिन्नता यो नै हो ।

“जनगणतन्त्र चीनको संविधानमा” जनगणतन्त्र चीनको सर्वाधिकार जनतामा निहित भएको कुरा उल्लेख गरिएको छ । जनताले राज्य-सत्ताको सञ्चालन गर्ने अंग चाहि राष्ट्रिय जन-कांग्रेस तथा विभिन्न तहका स्थानिय जन-कांग्रेसहरु हुन् । जन-कांग्रेसको व्यवस्था जनगणतन्त्र चीनको मूलभूत राजनैतिक व्यवस्था हो । राष्ट्रिय जन-कांग्रेस तथा विभिन्न तहका स्थानीय जन-कांग्रेसको मनोनयन प्रजातान्त्रिक निर्वाचनका माध्यमबाट गरिन्छ । देशको प्रशासन कार्यालय, फैसला कार्यालय र न्यायाधिवक्ता कार्यालयको गठन जन-कांग्रेसबाट गरिन्छ । जनगणतन्त्र चीन एकीकृत बहुजातीय देश हो । विभिन्न थरीका अल्पसंख्यक जातीहरुले बसोबास गरिरहेका ठाउँहरुमा क्षेत्रीय स्वशासन लागू हुने गर्दछ र ती स्वाशासित ठाउँ सबै नै जनगणतन्त्र चीनका अविभाज्य अंग हुन् । जनगणतन्त्र चीनको राष्ट्रिय जन-कांग्रेस राज्य-सत्ताको सर्वोच्च निकाय हो । चीनमा संसदको एक सदनात्मक व्यवस्था छ । यसको गठन विभिन्न प्रान्त, स्वायत्त प्रदेश तथा केन्द्र शासित शहरहरु र जनमुक्ति सेनाद्वारा मनोनित प्रतिनिधिहरुबाट गरिन्छ । त्यसैले चीनमा बहुदलिय साझेदारी शासन व्यवस्था छ । पश्चिमी देशमा जस्तो बहुदलिय प्रतिस्पर्धी शासन व्यवस्था नभएर ।

अहिले चीनले कानूनको शासनलाई पनि उत्तिकै जोड दिएर अघि बढिरहेको छ । त्यसैले चीनमा दिनप्रतिदिन मानवअधिकार फराकिलो हुँदै गएको छ । मानव अधिकार जनताको जीवनस्तर उकास्नको लागि हुनुपर्छ, जनताको सुख र समृद्धिको लागि हुनुपर्छ । जथाभावी गाली गर्नलाई मानवअधिकार हुनुहुन्न । यो चिनियाँ शासन प्रणालीको सर्वोत्तम मान्यता पनि हो भन्न सकिन्छ ।

(हिरण्यलाल श्रेष्ठ वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हुनुहुन्छ ।)

Facebook Comments