Fri. Dec 27th, 2024

आज चीनबाट १० लाख मात्रा खोप ल्याइने, कोभिड खोप लगाउन करिब १४ लाख आवेदन

काठमाडौं, २०७८ असार २४ गते बिहीबार । चीनबाट थप दश लाख डोज भेरोसेल खोप ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाज आज चीनको राजधानी  पैचिंग जाँदैछ ।

सरकारले चीनबाट आज ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताउनुभयो ।

यसैगरी स्वास्थ्य सेवा विभाग अन्र्तगतको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले पनि चीनबाट ल्याइने भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने बताउनुभयो ।

कोभिड खोप लगाउन करिब १४ लाख आवेदन
कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले नागरिकबाट आवेदन माग गरेको थियो । कोभिड-१९ पहिलो डोज खोपका लागि करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएका छन् ।

वैशाख ३१ गतेबाट शुरु भएको आवेदन माग अनुसार तेस्रो सातासम्म करिब १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएको खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण माग गरेको हो । तर, स्वैच्छिक आवेदन दिएपनि खोप पाउने टुंगो नभएको खोप सल्लाहकार समितिका संयोजक डा. पोखरेलले जानकारी दिनुभयो ।

Facebook Comments