Fri. Sep 20th, 2024

‘हाइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै हत्या’

काठमाडौं, २०७८ असार २३ गते बुधबार । हाइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमा गरिएको आक्रमणमा ज्यान गएको देशका अन्तरिम प्रधानमन्त्रीद्वारा जारी एक वक्तव्यमा जनाइएको छ।

पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन्।

आक्रमणमा मोइजकी श्रीमति तथा प्रथम महिला घाइते भएको विवरणमा जनाइएको छ। अन्तरिम प्रधानमन्त्री जोजेफले “राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको” बताउनु भएको छ ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हाल्नु भएको थियो ।

भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उहाँले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो।

यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उहाँको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए।

हाइटीको राजनीतिक विपक्षीको भनाइमा राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै समाप्त भइसकेको हो, जुन उहाँका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मिति देखि ठिक पाँच वर्ष पुगेको दिन हो।

तर मोइजले आफूले सोही मितिदेखि नै सत्तारोहण नगरेकाले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आउनु भएको थियो ।

बीचको एक वर्षको ढिलाइ निर्वाचनमा धाँधली भएको भन्ने आरोपहरूका कारण हुन गएको हो जुन आरोपहरूका माझ सन् २०१५ को निर्वाचनको नतिजा रद्द गरेर नयाँ निर्वाचन गरिएको थियो। जुन निर्वाचनमा जोभनेल मोइज विजयी हुनुभएको थियो । बिबिसी

Facebook Comments