Mon. Apr 29th, 2024

मुस्ताङको कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

काठमाडौं, २०७८ असार २१ गते सोमबार । छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ ।

समुद्री सतहबाट चार हजार ६६० मिटर उचाइमा बन्ने सो सुक्खा बन्दरगाहमा दुई दर्जनभन्दा बढी भित्री पूर्वाधार निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । सितारा कन्सल्टेन्ट प्रालिले एक वर्षको अवधिमा सो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन समितिलाई प्राप्त भइसकेको छ ।
गजुरेलले भन्नुभयो, “सो ठाउँमा सुक्खा बन्दरगाह निर्माण गर्नु प्राविधिक, आर्थिक, वातावरणीय, सामाजिक दृष्टिकोणले उपयुक्त रहेको सो अध्ययनले देखाएको छ ।” सो बन्दरगाह निर्माण अगाडि बढाउन आर्थिक वर्ष २०७८/७९ भित्र परामर्शदाता कम्पनी छनोट गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न गर्ने बताउँदै उहाँले डीपीआर र ईआईए गर्न बजेटको समेत सुनिश्चितता भइसकेको जानकारी दिनुभयो ।

अध्ययन प्रतिवेदनले सो बन्दरगाहको निर्माण कार्य दुई चरणमा सम्पन गर्ने प्रस्ताव गरेको कार्यकारी प्रमुख गजुरेलले बताउनुभयो । बन्दरगाह निर्माण गरिदिन चीन सरकारसँग समेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो । बन्दरगाह निर्माणका लागि जग्गासमेत सुनिश्चित भइसकेको छ ।

प्रतिवेदनअनुसार सो सुक्खा बन्दरगाहको कुल निर्माण लागत एक अर्ब ५० करोड ९२ लाख ९३ हजार रुपियाँ अनुमान गरिएको छ । करिब साढे चार सय रोपनी क्षेत्रफलमा निर्माण हुने सो बन्दरगाहका लागि जग्गा सुनिश्चित भइसकेको गजुरेलले जानकारी दिनुभयो । सो ठाउँमा सार्वजनिक जग्गा नै प्रशस्त छ । निजी जग्गा अधिग्रहण गर्नु नपर्ने उहाँले बताउनुभयो ।

गजुरेलले सो बन्दरगाहमा रेल-वे र सडक पूर्वाधारको समेत ‘लिङ्क’ हुने बताउँदै मुख्य रूपले भन्सार पूर्वाधार, प्रशासन पूर्वाधार, कन्टेनर यार्ड, सुरक्षा बेस, पार्किङ, क्वारेन्टाइन कार्यालय, पेट्रोल पम्प र डिप बोरिङलगायतका भौतिक पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

दुई वर्षअघि नै उत्तरी कोरला नाकाको २४ नम्बर सीमास्तम्भको नेपालतर्फ अन्तर्राष्ट्रिय मापदण्ड छोडेर सुक्खा बन्दरगाह निर्माण गर्न आवश्यक जमिनको लालपुर्जा तयार भइसकेको छ । गोरखापत्र अनलाईन

Facebook Comments