Sun. May 5th, 2024

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवा ४६ वर्षमा प्रवेश

काठमाडौं, २०७८ असार ११ गते शुक्रबार । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवा आजदेखि ४६ वर्षमा प्रवेश गरेको छ । हाल चाईना मिडिया ग्रुपमा रहेको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोबाट नेपाली भाषामा प्रसारणको शुभारम्भ सन् १९७५ को जून २५ तारिख अर्थात आजकै दिन भएको थियो।

हाल यस भाषामा हरेक दिन शर्ट वेभ र मिडियम वेभबाट जम्मा चार घण्टा प्रसारण भइरहेको छ। नेपाली सेवाका श्रोता नेपाल बाहेक भुटान, भारत, बंगलादेश, साउदी अरेबिया र संयुक्त अरब इमेरेटस आदि मुलुकहरुमा पनि छन।

नेपाली सेवाले हरेक दिन समाचार, साथै “चीनको तिब्बत” “चिनियाँ संस्कृति”, “अर्थ जगत”, “श्रोताको चौतारो”, “साक्षात्कार” आदि नियमित कार्यक्रमहरुको प्रसारण गरिरहेको छ। चाडबाड र स्मृति दिवसका उपलक्ष्यमा नेपाली सेवाले प्रायजसो विविध किसिमका आकर्षक विशेष कार्यक्रमहरु प्रसार गर्ने गरेको छ।

विगत केही वर्षदेखि नेपाली सेवाले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका मुख्य नेताहरु, संसदका सभामुख, परराष्ट्र मन्त्री, चीनका लागि नेपाली राजदूत, चीन विज्ञ विद्बानहरु, चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरु तथा चीनका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुसित अन्तर्वार्ता लिई प्रसार गर्दै आएको छ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सन् २००३ डिसेम्बरमा चीनभित्रको पहिलो नेपाली भाषाको वेभ-साइट सार्वजनिक गरेको छ। पर्याप्त र विविध विषयका साथसाथै आकर्षक चित्र-सामग्रीहरुले सजाइएको यस वेभ-साइटले नेपाल सरकारका पदाधिकारीहरु लगायतका विभिन्न क्षेत्रका नेपाली इन्टरनेटका प्रयोगकर्ताहरुलाई आकर्षित गरेको छ। अझ कहाँसम्म भने, बेल्जियम, जापान, बेलायत,अष्ट्रेलिया,क्यानाडा र अमेरिकाजस्ता विकसित मुलुकहरुमा बसोबास गरिरहेका धेरै नेपाली मित्रहरुले पनि सी. आर. आई. नेपाली सेवाको वेभ-साइटमार्फत सूचना प्राप्त गर्ने बानी बसालिसक्नुभएको छ।

सन् २००३ को अप्रिल महिनामा नेपाली सेवाले चीनमा नेपाली भाषाको एक मात्र समाचारपत्र “मितेरी पुल”को त्रैमासिक प्रकाशन शुरु गरेको थियो जसलाई व्यापक नेपाली श्रोताहरुले मन पराएको पाइएका थिए। हाल सीआरआई नेपाली सेवाले नेपालको स्थानीय प्रकाशन संस्थासँग साझेदारीमा’हट नेपाल’ मासिक पत्रिका प्रकाशन गर्दै आएको छ।

सन् २०१९ देखि चाईना मिडिया ग्रुपले रेडियो तथा टेलिभिजनका लागि विभिन्न कार्यक्रम उत्पादन, बितरण तथा प्रसारण गर्ने उद्देश्यले नेपालस्थित रे मिडिया ग्रुपसँग मल्टि मिडिया सञ्चार साझेदारी गरी काम भैरहेको छ ।

बितेका ४५ वर्षदेखि नेपाली प्रसारण सुन्ने श्रोताहरुको संख्या दिन-दिनै बढ्दो छ। श्रोताहरुको तत्परतामा स्थापित सी. आर. आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद, नेपालले श्रोताहरुलाई नेपाली सेवासित सम्पर्क गराउने र नेपाली प्रसारणको प्रचार-प्रसार गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छ। हाल नेपालमा सी.आर.आई.का करिब सात सयवटा श्रोता क्लबहरु छन्। नेपाली श्रोताहरुबाट हरेक वर्ष प्राप्त पत्रहरुको संख्या एक लाखभन्दा बढी पुग्ने गरेको छ। सन् १९९० देखि हालसम्म पन्ध्रजना नेपाली श्रोताले सी.आर.आई.द्बारा सञ्चालित ज्ञान-विज्ञान प्रतियोगितामा विशेष पुरस्कार जितेर चीनको भ्रमण गरिसक्नुभएको छ। नेपाली श्रोताहरुले भित्री हृदयदेखि नै चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवालाई “हिमालय पार गर्ने मितेरी पुल”को संज्ञा दिँदै त्यसको उच्च प्रशंसा गर्नुभएको छ।

यस नेपाली सेवामा हाल जम्मा बार्‍हजना चिनियाँ कर्मचारीहरु र तीनजना नेपाली विशेषज्ञहरु कार्यरत हुनुहुन्छ।

Facebook Comments