Fri. Apr 19th, 2024

सुदूरपश्चिका पहाडी जिल्लामा भारी हिमपात, कतै चार फिटसम्म हिउँ

बैतडी,मङ्सिर २७ गते । शुक्रबार विहानैदेखि सुदूरपश्चिका पहाडी जिल्लामा भारी हिमपात भएको छ । हिमपातमा फसेका बझाङ, बैतडी र डडेल्धुरामा हिउँ सफा गरेर यात्रुको उद्धार गरिएको छ । निरन्तर हिमपात भईरहेकोले ती सडकमा थप यातायातका साधन चल्न सकेका छैनन् ।

शुक्रबार सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ, अछाम र बाजुराका अधिकाशं ठाउँमा वर्षा र हिमपात भएको छ । समुद्री सतहबाट एकहजार सातसय मिरटर माथिका डाँडा हिँउले ढाकिएका छन् । बाक्लो हिमपातले बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे हिँउले ढाकिएको छ । हिमपातले गाउँपालिकाको काम समेत प्रभावित बनेको सिगास गाउँपालिकाका प्रमखु प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिनुभयो ।

हिमपातले बैतडी–बझाङको सडकमा फसेका यातायात साधन शुक्रबार अपरान्ह हिँउ सफा गरेर सुचारु गरिएको छ । निरन्तर हिमपात भईरहेकोले त्यहाँ थप यातायातका साधन चल्न सकेका छैनन् ।
हिमाली जिल्ला बाजुराका चार नगरपालिका र पाँचवटा गाउँपालिकामा हिमपात भईरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताउनुभयो । प्रजिअ न्यौपानेले भन्नुभयो, सदरमुकाममा समेत हिँउ परिरहेको छ । हिमपातले शुक्रबार अपरान्हसम्म जिल्लामा कुनै क्षतिको विवरण आएको छैन । अवस्था सामान्य रहेको छ ।

त्यस्तै अछाम जिल्लाका चार नगरपालिका र छवटा गाउँपालिका मध्ये रामारोशन गाउँपालिकामा बढी हिमपात भए पनि अन्य पालिकामा वर्षा भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।
डडेल्धुरा जिल्ला भएर जानु पर्ने डोटी, अछाम र बाजुराका लागि छुटेका यातायातका साधन डडेल्धुराको हगुल्टेको लेकमा फसेकाले शुक्रवार अपरान्ह हिउँ सफा गरेर यातायात सूचारु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।
सुदूरपश्चिमको तराईबाट शुक्रबार विहान छुटेको यातायातका साधन हगुल्टेको लेकमा फसेकोले हिँउ सफा गरेर यातायात सुचारु गर्ने काम भईरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले जानकारी दिनुभयो । निरन्तर हिमपात भईरहेकोले त्यहाँ पनि थप सवारीसाधन चल्न सकेका छैनन्् ।
हिमपातले अबरुद्ध भएको बैतडीको खोड्पेमा बाटो सफा गरेर रोकिएका यातायातका साधन सुचारु गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । हिमपात भईरहेकोले यातायातका थप सवारी साधन भने चल्न सकेका छैनन् ।

हिमपातले अबरुद्ध भएको जयपृथ्वी मार्गमा पर्ने बझाङको स्याडीमा अलपत्र परेका यात्रुको उद्धार गर्न बाटो खोल्ने तयारी भईरहेको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पौडेलले जानकारी दिनुभयो ।

शुक्रवार विहान बैतडीको खोड्पे, दुदिलाखान, श्रीभावर,सतबाँझ, र अनारीखोलीमा बाक्लो हिमपात भएको छ । बैतडीको खोड्पे र श्रीभावरमा चार फिटसम्म हिँउ परेको छ ।
बाटोमा फसेका मालवाहक ट्रक बाहेक यातायातका साधन सुचारु गर्न सुरक्षाकर्मी तैनाथ गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पौडेलले जानकारी दिनुभयो ।
प्रजिअ पौडेलले भन्नुभयो, बझाङका १२ स्थानीय तह मध्ये साईपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुगल र चिरबित्थडमा बढी हिमपात भएको छ ।

डोटीमा भने हिमपातले अन्य जिल्लाको तुलनामा कम असर गरेको प्रमखु जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । प्रजिअ पौडेलले भन्नुभयो, दुई नगरपालिका र सात वटा गाउँपालिका मध्ये खप्पडसित जोडिएको डोटीको पूवीचौकी गाउँपालिका, डडेल्धुरासित जोडिएको जोरायल गाउँपालिका र उच्च लेकाली भोगसित जोडिएको बडिकेदार गाउँपालिका र सायल गाउँपालिकामा हिमपात भएको छ । बाटो अबरुद्ध भएर यात्रुहरु समस्यामा नपरुन् भनेर सतर्कता अपनाईएको प्रजिअ पौडेलले बताउनुभयो ।

जयपृथ्वी मार्गमा बाक्लो हिमपातका कारण खोड्पेबाट बझाङ जाने सवारी साधन बैतडीको खोड्पेमा रोकिएको उग्रतारा यातायात प्रलिका कोषाध्यक्ष हरिशकिरण बिष्टले जानकारी दिनुभयो ।

बिष्टले भन्नुभयो, ‘शुक्रवार विहा ८ः बजेदेखि खोड्पेमा बाक्लो हिमपात सुरु भएको छ । यातायात चल्न सकेको छैनन् । लामो तथा छोटो दूरीका सवारी साधान चल्ननक्दा यात्रुहरु खोड्पेमै रोकिएका छन् । चिसो निकै बढेको छ ।’
बाटो खोल्ने यान्त्रिक कार्यालय एक वर्षदेखि बाटोमै अलपत्र
हिमपात, वर्षा र पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात अबरुद्ध भएमा बाटो सुचारु गर्न बैतडीको अनारखोली पठाईएको यान्त्रिक कार्यालय एक वर्ष बितिसक्दा पनि बैतडी पुग्न सकेको छैन ।

संघीय सरकारले एक वर्ष अघिनै बैतडीको अनारखोलीमा स्थापना गर्न पठाएको यान्त्रिक कार्यालय अहिलेसम्म बैतडी पुग्न नसकेको यातायात व्यावसायिले बताएका छन् ।

संघीय सरकारले डोटीको बुडरमा रहेको यान्त्रिक कर्यालय बैतडीको अनारखोली पठाउने निर्णय गरेर परिपत्र गरे पनि उक्त कार्यालय एक वर्षसम्म बाटोमै अलपत्र परेको छ ।
कर्णाली प्रदेश र सुदूरपीश्चम प्रदेशका सडक हेर्दै आईरहेको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतको लापरबाहीले यान्त्रिक कार्यालय बैतडी आउन नसकेको यातायात व्यावसायिले गुनासो गरेका छन् । पहाडी जिल्लाको बाटो अबरुद्ध भए यान्त्रिक कार्यालय गोदावरी र बुडरबाट बाटो खोल्ने उपकरण ल्याएर बैतडी पुग्न एक दिन लाग्ने गरेको छ ।

बाटो खोल्ने विषयमा संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका प्रमुख धनश्याम गौतमले डिभिजन सडक कार्यालयहरुसंग समन्वय गरेर बाटो खुलाउन पहल गरिने बताउनुभयो ।

हिमपात र वर्षाले किसान खुशी

वर्षा र हिमपातले बैतडी लगायत सुदूरपश्चिमका किसान खुशी भएका छन् । वर्षा र हिमपातले आलु खेती र गहुँ बालीलाई फाईदा पुगेको कृषि ज्ञाकेन्द्र बैतडीले जानकरी दिएको छ ।

समयमै हिँउदे वर्षा भएकोले हिँउदे बाली र सुख्खा फलफूललाई फाईदा पुगेको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो ।

चन्दले भन्नुभयो, यो वर्ष समयमै वर्षा भयो । उच्च लेकाली भेगमा हिमपात भयो । यसले आलुखेती, गहुँबाली र सुख्खा फलफूललाई निकै फाईदा पुगेको छ । गोरखापत्र अनलाइन

Facebook Comments