Thu. May 9th, 2024

वार्ता चलिरहँदा इजरेलद्वारा इरानको परमाणु कार्यक्रमको कटु आलोचना

काठमाडौं, २०७८ असार ७ गते सोमबार । इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट “ब्युँझन” आह्वान गर्नुभएको छ ।

इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा बेनेटले इरान “क्रूर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता” भएको र उसले परमाणु अस्त्र चाहेको बताउनु भयो।

इरानले त्यस्ता आरोप बारम्बार अस्वीकार गरिरहेको छ। कूटनीतिज्ञहरूले राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका अलग भएको परमाणुसम्बन्धी सम्झौतालाई नवीकरण गर्न प्रगति भइरहेको बताएका छन् तर अझै फरक मतहरू रहेको पनि उल्लेख गरेका छन्।

इजरेलले उक्त सम्झौताको विरोध गर्दै आएको छ। इरानले देशका अति पुरातनवादी विचार राख्ने सर्वोच्च न्यायाधीश एब्राहिम राइसीलाई नयाँ राष्ट्रपतिका रूपमा शुक्रवार चुनेको थियो।

अगस्टमा जिम्मेवारी सम्हाल्ने उनीमाथि अमेरिकी प्रतिबन्ध छ र राजनीतिक बन्दीहरूलाई विगतमा मृत्युदण्ड दिएको आरोप लागेको छ।

गएको एप्रिल यता संयुक्त राज्य अमेरिका, यूके, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँग परमाणु अस्त्र सम्झौतालाई पुन: सक्रिय बनाउन वार्ता गरिरहेका छन्। सन् २०१५ मा सम्झौता भएपछि इरानले प्रतिबन्धहरू खुकुलो पारिएका जवाफमा आफ्ना परमाणु गतिविधिलाई केही सीमित तुल्याएको थियो।

तर अमेरिका एकपक्षीय रूपमा सम्झौताबाट अलग भएपछि इरानले उक्त सम्झौतालाई उल्लङ्घन गरिरहेको छ। आइतवार भियनामा अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ताका लागि प्रतिनिधिहरू भेला भएका थिए। तर त्यो स्थगित गरेर प्रतिनिधिहरू आआफ्ना राजधानी फर्किएका छन्।

इरानका उप विदेशमन्त्री अब्बास आराक्चीले सरकारी टेलिभिजनलाई सम्झौताका पक्षधरहरू पहिलाभन्दा सहमतिको नजिक रहेको बताउनु भए पनि बाँकी रहेका विषयमा दूरी कम गर्नु सजिलो नभएको बताउनु भयो। बिबिसी

Facebook Comments