Wed. May 8th, 2024

चीनतर्फ पहिरोले थुनिएपछि माथिल्लो तामाकोसी आयोजनाको जलाशय खाली गरिँदै

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय । फाइल तस्बिर

काठमाडौं, २०७८ असार ५ गते शनिबार । तामाकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई जोगाउन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गर्न थालिएको छ । पहिरोले तामाकोसीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको हो ।

फाइल तस्बिर : तिङ्ग्री काउन्टीको लप्ची उपत्यका । यही क्षेत्रमा अहिले पहिरोका कारण तामाकोसी नदीको सहायक रोङ्सी खोला थुनिएको हो ।

शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङ्सी खोला थुनिएको छ । पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

कुनै पनि वेला उक्त खोलाबाट बाढी आउन सक्ने सम्भावना रहेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनु भयो । ‘जस्तोसुकै बाढी आए पनि डेढ घण्टा तामाकोसीको बाँधले थेग्छ,’ न्यौपानेले भने, ‘उक्त समयमा तटीय क्षेत्रका मानिस सुरक्षित स्थानमा जानका लागि जलासय खाली गरिएको हो ।’ तामाकोसी जलाशयको पानीको सतह १९ सय ७८ मिटरमा झार्ने काम भइरहेको उहाँले बताउनु भयो। ‘तामाकोसीको बाँध ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ,’ उहाँले भन्नुभयो।

त्यस्तै प्रजिअ घिमिरेले बाढी रोक्नका लागि जलाशयको पानी घटाउने काम भइरहेको बताउनु भयो । ‘कुनै पनि वेला ठूलो बाढी आउन सक्ने भन्दै चिनियाँ अधिकारीहरुले भनेका छन्,’ उहाँले भन्नुभयो ‘बाढी रोक्नका लागि तामाकोसी आयोजनाको जलशयबाट पानी घटाउने काम भएरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति नै चीनको तिङ्ग्री सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर तामाकोसी नदी थुनिएको सूचना प्राप्त भएको बताएको थियो । ‘भौगोलिक विकटताका कारण उक्त थुनिएको खोलाको अवस्था के छ थाहा हुन सकेको छैन,’ प्रजिअ घिमिरेले भन्नुभयो, ‘चिनियाँ अधिकारीहरुले सुरक्षित हुन आग्रह गरेका छन् ।’

खोला थुनिएकाले माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलको माथिल्लो भेगमा तामाकोसीमा पानीको मात्रा घटेको उहाँले बताउनु भयो । उहाँका अनुसार लप्ची नजिकै ६० र ६१ नम्बर सीमास्तम्भनजिकै पहिरो गएर नदी थुनिएको छ । ‘लप्चीनजिकै सीमामा पहिरो गएको चिनियाँ पक्षले भनेको छ,’ उहाँले भन्नुभयो, ‘बाढी आउन सक्ने भनेर हामीलाई भनेको छ, नदीतटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन भनेका छौं ।’

नदी थुनिएको क्षेत्रमा ताल बनेको चिनियाँ अधिकारीहरुले जनाएको उहाँले जानकारी दिनुभयो । बाढी आउन सक्ने नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पनि उहाँले बताउनु भयो । अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तामाकोसी नदीको बहाव निरीक्षण गरिरहेको छ । कान्तिपुर अनलाईन

Facebook Comments