Fri. Apr 26th, 2024

नेपाली भू-उपग्रह स्याट-१ खरानी हुँदै

- दुई वर्षमा पृथ्वीको ११४०० फन्को लगायो

काठमाडौं, २०७८ असार ४ गते शुक्रबार । अन्तरिक्षमा पठाएको ६ महिनासम्म मात्रै काम गर्न सक्‍ने भनिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’ ले बिहीबार दुई वर्ष पूरा गरेको छ । सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट-१ सहित श्रीलंकाको राभाना-१ र जापानाको इगुसु स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएको थियो ।

सुरुमा पृथ्वीको सतहदेखि ४ सय २० किलोमिटरमाथि घुमिरहेको नेपालको झन्डा अंकित स्याटेलाइट पछिल्लो समय पृथ्वीतर्फ झर्दै गइरहेको छ । बिहीबार नेपाली स्याटेलाइट पृथ्वीदेखि ३ सय ३० किलोमिटर माथि घुमिरहेको थियो ।

‘बार्डस्-३ मिसनअन्तर्गत छाडिएको यो क्युब स्याटको आयु ६ महिना भनिएको थियो,’ स्याटेलाइटका निर्माणकर्ता एवं नास्टका इन्जिनियर हरिराम श्रेष्ठले भन्नुभयो, ‘स्याटेलाइटले अन्तरिक्षमा २ वर्ष पूरा गर्‍यो ।’

अन्तरिक्षमा नेपाली स्याटेलाइटले ७ सय ३० दिन बिताइसकेको छ । त्यसले पृथ्वीलाई ११ हजार ४ सय पटक फन्को लगाएको श्रेष्ठले बताउनु भयो । स्याटेलाइट अबको अढाई महिनाभित्रमा ध्वस्त हुँदै छ । ‘हाम्रो प्रेडिक्सनअनुसार नेपाली स्याटेलाइटले अब ११ सय ४३ पटक मात्रै पृथ्वीलाई फन्को लगाउन पाउँछ,’ जापानको क्युटेक विश्वविद्यालयमा स्याटेलाइटसम्बन्धी विषयमा विद्यावारिधि गरिरहनु भएका श्रेष्ठले भन्नुभयो, ‘अबको ७१ दिन अर्थात् अगस्ट २४ मा नेपाली स्याटेलाइट जलेर खरानी हुन्छ ।’ कान्तिपुर अनलाईन

Facebook Comments