Fri. Apr 19th, 2024

पूर्व प्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौं, २०७८ असार २ गते बुधबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिउँसो १२ः३५ को विमानबाट भारतको दिल्ली लगिएको छ । तीन दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार नआएपछि दिल्लीस्थित एपोलो अस्पताल लगिएको उहाँको सचिवालले जनाएको छ ।

सचिवालयका सदस्य चन्द्र लामाका अनुसार पूर्व प्रधानमन्त्री खनाललाई नियमित उडानमार्फत मध्यान्ह १२ः३५ बजे दिल्ली लगिएको हो । उहाँको साथमा चिकित्सक डा. सुदीप अमात्य, श्रीमती र छोरा जानुभएको छ । रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि उहाँलाई थप उपचारका लागि भारत लगिएको सचिवालय सदस्य लामाले जानकारी दिनुभयो ।

एक महिनाअघि नेता खनाललाई कोभिड पोजेटिभ भएको थियो, उहाँलाई नियमित ज्वरो आउने समस्या पनि रहेको सचिवालयले जनाएको छ । पाँच महिनाअघि पनि नेता खनालले एपोलोमा स्वास्थ्य चेकजाँच गराउनुभएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments