Mon. Apr 29th, 2024

भव्य अनि ऐतिहासिक सफलतासँगै तेह्रौं दक्षिण एसियाली खेलकुद सम्पन्न

काठमाडौं, २०७६ मंसिर २४ गते मंगलबार ।

नेपालले दक्षिण एसियाली खेलकुद(साग)को तेह्रौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले साग सम्पन्न भएको घोषणा गर्नुभयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुरुष फुटबल खेलको फाइनलसँगै समारोहको आयोजना गरी साग सम्पन्न भएको घोषणा गरिएको हो । अतिथि सत्कार र व्यवस्थापनमा समेत नेपालले प्रशंसा पायो । पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष शाहिद अली हसनले समापन समारोहमै प्रशंसा गर्नुभयो । उहाँले नेपालले प्रदान गरेको आतिथ्य र व्यवस्थापकीय कुशलताले चौधौं साग आयोजना गर्न उत्साहित भएको प्रतिक्रिया दिनुभयो ।

सम्भावना देखाएको तेह्रौं साग
व्यवस्थापकीय कुशलता र आतिथ्यले मात्रै नभई नेपालले सागको ३५ वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा बढी स्वर्ण जितेर कीर्तिमान समेत बनायो । पछिल्ला बाह्र संस्करणमा ७१ स्वर्ण जितेको नेपालले सागको एकै संस्करणमा ५१ स्वर्ण जितेर खेलकुदमा नयाँ ऊचाई समेत पायो । मङ्सिर १५ गते सुरु भई काठमाडौं–पोखरा र जनकपुरधाममा दशदिनसम्म चलेको सागमा कुल एक हजार ६३ पदकका लागि दुई हजार ७१५ खेलाडी सहभागी हुनुभयो ।

घरेलु मैदानमा नेपाली खेलाडीले एथ्लेटिक्स, पौडी, भारत्तोलन, कुस्ती, गल्फ लगायतको विधामा कीर्तिमान बनाउन सफल भए । पौडीकी गौरिका सिंहले सागको एकै संस्करणमा चार स्वर्णसहित ९ पदक जितेर पहिलो सर्वाधिक सफल खेलाडी बन्न सफल हुनुभयो । किरणसिंह बोगटीले ४२ किलोमिटरको दौड जित्दा तीन दशकपछि नेपालले एथ्लेटिक्समा वापसी गर्यो । गल्फमा १७ वर्षे सुवास तामाङ्को दोहोरो स्वर्णले नेपाललाई खेलकुद विधालाई थप प्राथमिकता दिनुपर्ने बनायो । महिला भलिबलमा नेपाली टोलीको प्रदर्शनले खेलकुदमा नेपालको सम्भावनालाई मजबूत बनायो । कुस्तीमा संगिता धामीको स्वर्णले खेलकुदमा महिला सहभागितालाई र आँटलाई फराकिलो बनायो ।

प्रतिष्ठित विधा अन्तगर्त क्रिकेटमा निराशा हात लाग्दा फुटबलमा उपाधि रक्षा गरेको नेपाललाई दक्षिण एसियामा फेरी एकपटक स्थापित गरायो ।
समग्रमा देशका अन्य शहरहरुमा सफलतापूर्वक सम्पन्न हुनुले पहिलो पटक विकेन्द्रित खेलकुदको अन्तर्राष्ट्रिय उत्सवले राष्ट्रिय भावनालाई मजबूत बनाउन समेत सफल भएको छ ।

१४ औं साग पाकिस्तानमा
चौधौं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक कमिटिको सोमबार बसेको बैठकले सागको चौधौं संस्करण पाकिस्तानमा गर्ने निर्णय गरेको हो । समापन समारोहको अवसरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले चौधौं सागको आयोजक पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष शाहिद अलि हसनलाई आयोजना हस्तान्तरण गर्नुभयो ।
पाकिस्तानले छ महिनाभित्र बैठक बसेर चौधौं साग हुने शहर र मिति निर्धारण गर्नेछ । दक्षिण एसियाली राष्ट्रको वर्णानुक्रम अनुसार सागको आयोजना पालैपालो गर्ने समझदारी अनुसार सागको आगामी संस्करणको आयोजना पाकिस्तानले गर्न पाउनेछ ।

नेपाल दोस्रो स्थानमा
२० वर्षपछि नेपाल साग पदक तालिकामा पुनः दोस्रो स्थानमा रहन सफल भयो । यसअघि सन् १९९९ को सागमा नेपालले ३१ स्वर्णसहित ६५ पदक ल्याएर दोस्रो स्थानमा थियो । भारत उक्त संस्करणमा १०२ स्वर्ण जितेको थियो । श्रीलङ्काले १६ स्वर्ण जितेर तेस्रो स्थान प्राप्त गरेको थियो । तेह्रौं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य गरी कुल २०६ पदक जितेर दोस्रो स्थानमा रहन सफल भयो ।

भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ काश्य प्राप्त गरी दक्षिण एसियामा आफ्नो वर्चश्वतालाई निरन्तरता दिदा श्रीलङ्काले ४० स्वर्ण, ८३ रजत र १२८ काश्यसहित कुल २५१ पदक ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो । पाकिस्तान भने ३१ स्वर्ण, ४१ रजत र ५९ काश्य गरी कुल १३१ पदक प्राप्त गर्यो । बङ्गलादेश १९ स्वर्ण र माल्दिभ्सले एक स्वर्ण प्राप्त गर्दा भुटान स्वर्णविहीन हुन पुग्यो । उसले सात रजत र १३ काश्य प्राप्त गर्यो ।

उसले फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो र एकमात्र स्वर्ण जित्ने सपना र अपेक्षा राखेको थियो । तर फाइनलमा नेपालसँगको भेटले भुटानको उक्त सपना साकार हुन सकेनन् । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments