Sat. May 18th, 2024

काठमाडौं उपत्यकामा असार ७ गते रातिसम्मका लागि निषेधाज्ञा थपियो

काठमाडौं, २०७८ जेठ ३० गते आईतबार । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो ।

यसपालिको आदेशमा भने अत्यावश्यक खाद्य सामग्री खरिद/बिक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । तरकारी, फलफूल, खाद्यान्न, दूध, डेरीजन्य परिकार, मासु, खानेपानी, ग्यास पसल, किराना, डिपार्टमेन्टल स्टोर्स (ग्रोसरी मात्र) खुला हुनेछ । स्थानीय ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यस पटकको आदेशमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । यसअघि पुस्तक पसल खोल्न दिइएको थिएन । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत्, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरीका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

कृषि कार्यका लागि भने सहजीकरण गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बिउ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा उल्लेख छ । यस्तै अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा कामदार राखेर सञ्चालन गर्न सकिनेछ । निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । शैक्षिक संस्थाहरूले अनलाइनमार्फत पठनपाठन गराउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पालना गरी बैँक तथा वित्तीय संस्थाले सीमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्ने गरी खुकुलो बनाइएको छ । यसअघि सीमित कार्यालय मात्रै खोल्न पाइने थियो ।  याे निर्णय सोमवार राति १२ बजेदेखि लागू हुनेछ ।

Facebook Comments