Fri. Apr 26th, 2024

फुटबल खेलाडी सुमन श्रेष्ठसहित दुई जनाको शव नदीमा फेलापर्यो

काठमाडौं, २०७८ जेठ २९ गते शनिबार । नदीमा बेपत्ता भएका पाँच जनामध्ये दुई जनाकाे शव फेला परेको छ । गत बुधबार आँखुखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका फुटबल खेलाडी सुमन श्रेष्ठको शव शुक्रबार ३ बजे फेला परेको छ । बेपत्ता भएको स्थानबाट दुई सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै मङ्गलबार त्रिशूली नदीबाट हराइरहेका रामबहादुर विसुन्केको शव शुक्रबार फेला परेको छ । २८ वर्षका विसुन्केको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा शुक्रबार बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बुढीगण्डकी नदीबाट हराइरहेका तीन जना युवा भने अझै फेला परेका छैनन् । मलामी गएर बुढीगण्डकी नदीमा नुहाउने क्रममा नदीले बगाएको थियो । अहिले स्थानीय र प्रहरीको सहयोगमा खोजी कार्य जारी छ ।

पछिल्लो समय खोलाले बगाएर बेपत्ता हुने क्रम बढेपछि प्रशासनले सचेत रहन सबैलाई आग्रह गरेको छ । पानी पर्ने सिजन भएकोले नदीको बहाब बढ्न सक्ने, बाढी पहिरोको जोखिमसँगै दुर्घटना बढ्न सक्ने भएकोले यस्तो बेलामा नदीमा पौडी खेल्न नजान, सचेत रहन सुझाव दिएको छ । गोरखापत्र अनलाईन

Facebook Comments