Tue. Apr 1st, 2025 11:02:15

विदेशमा बसेका ११ लाख ८० हजार जना चिनियाँ नागरिकले खोप लगाए

काठमाडौं, २०७८ जेठ २८ गते शुक्रबार । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले आज जुन १० तारिख नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट स्वागत प्राप्त भएको बताउनुभएको छ। हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड-१९ भाइरस विरूद्ध चिनियाँ खोप लगाएको जनाइएको छ।

प्रवक्ता वाङका अनुसार यस मार्च ७ तारिख चिनियाँ राज्य परिषदका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त चिनियाँ खोप लगाउने परियोजनाबारेको विषय सार्वजनिक गर्नुभएको थियो।

यस बाहेक चीन सरकारले चीनमा बसेका विदेशीहरूको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेरमापदण्ड पूरा गरेका विदेशीहरूलाई चिनियाँ खोप लगाउने योजना बनाएको छ भने हालसम्म चीनमा बसेका २ लाख भन्दा बढी विदेशीहरूले चिनियाँ खोप लगाएको पनि वाङ वन पिनले व्यक्त गर्नुभएको छ। सीआरआई

Facebook Comments