Fri. Apr 26th, 2024

नेपाली काँग्रेस प्रदेश नं. २ को सरकारमा सहभागी भयो

काठमाडौं, २०७८ जेठ २७ गते बिहीबार ।  नेपाली काँग्रेस प्रदेश नं. २ को सरकारमा सहभागी भएको छ । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झाले काँग्रेसबाट सहभागी तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री पदको शपथ गराउनुभएको छ ।

जनकपुरधामस्थित प्रदेश नं. २ का प्रदेश प्रमुखको कार्यालयमा बुधबार राती नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता रामसरोय यादबको नेतृत्वमा ओमप्रकाश शर्मा र बिरेन्द्र प्रसाद सिंहले मन्त्री पदको शपथ ग्रहण गर्नुभएको हो ।

प्रदेश नं. २ को मन्त्रीपरिषद्का प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबले मन्त्री पदमा नियुक्त राम सरोज यादबलाई भौतिक पूर्बाधार बिकास मन्त्रालय, ओम शर्मालाई खानेपानी तथा उर्जा बिकास मन्त्रालय र बिरेन्द्रप्रसाद सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिइएको छ । १०७ सदस्यीय प्रदेशसभामा काँग्रेसका १९ जना सदस्य छन् ।

यसैबीच, प्रदेश सरकारमा माओवादी केन्द्रलाई तात्कालै सहभागी गराउने योजना बिफल भएको छ । आजै सरकारमा सहभागी भई मन्त्री पदको शपथ गर्ने योजना रहेकोमा गृहकार्य नपुग्दा माओवादी केन्द्र सरकारमा सहभागी भएन । माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले भन्नुभयो, “छलफल भएपनि गृहकार्य पुगेन, भोली पर्सि गृहकार्य गरेर आउन भनेका छौं ।” उहाँले जनता समाजवादी पार्टीका प्रतिनिधिहरु दिनभरि काँग्रेससँग छलफलमा ब्यस्त भएकोले ठोस निर्णय हुन नसकेको खुलाउनुभयो । “थप गृहकार्य गरेर आउनलाई भनेका छौं”-उहाँले बताउनुभयो ।
माओवादी केन्द्रले सत्ता सहकार्य गर्ने विषयमा निर्णय लिन संसदीय दलका नेता साहलाई जिम्मेवारी दिएको छ ।

माओवादी केन्द्रका हाल नौ जना प्रदेशसभा सदस्य प्रदेश सभामा छन् । ११ जना प्रदेशसभा सदस्यमध्ये माओवादी केन्द्रले चार जनालाई निलम्बन गरेकोमा समानुपातिक तर्फका एकजना थपिएका छन् ।

Facebook Comments