Tue. Apr 23rd, 2024

नेपालमा ३ हजार ४४९ जना संक्रमित थपिए, ८१ जनाको मृत्यु

काठमाडौं, २०७८ जेठ २६ गते बुधबार । नेपालमा कोरोनाभाइरसका तीन हजार ४४९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ६५२ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल ८० हजार ३३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

नेपालमा पछिल्लो चौबीस घण्टामा प्रति एक सय नमूनाको परीक्षण गर्दा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ८९५ को रिपोर्ट पोजेटिभ आएको छ ।

बुधबार चौबीस घण्टामा पाँच हजार ७६८ जना कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख १० हजार २९८ सङ्क्रमित कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५.२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १७९ जनाको मृत्यु भएको छ ।

Facebook Comments