Thu. Sep 19th, 2024

वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउँछः माधव कुमार नेपाल

काठमाडौं, २०७८ जेठ २४ गते सोमबार । नेकपा (एमाले) बाट निष्काशित नेता माधवकुमार नेपालले आफूहरुले यसअघि वैशाख ७ र २६ गते अगाडि सारेका माग मुद्दाको सुनुवाईका लागि वार्ता र सहमतिको बाटो अवलम्बन गरिएमात्र सकारात्मक परिणाम आउने बताउनुभएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबार अपरान्ह गर्नुभएको पार्टी एकताको आव्हानको सोमबार साँझ जवाफ दिनुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो । सोमबार दिउँसो बसेको सो पक्षको स्थायी कमिटीको बैठकको निस्कर्षमा आधारित भएर नेता नेपालले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार ६ बुँदे धारणासहित पार्टी एकताको आव्हानकानिम्ति असन्तुष्ट पक्ष नेपाल–खनाले पक्षलाई आव्हान गर्नुभएको थियो । नेता नेपालले आज त्यसको जवाफ पनि ६ बुँदामै दिनुभएको छ । जवाफमा नेता नेपालले भन्नुभएको छ, “हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहँदै आएका छौं । अन्तिम घडीसम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी रहने छ ।”

नेपाल कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षडयन्त्रहरु पराजित हुनुपर्छ भन्ने दृढ मान्यता आफूहरुको रहेको नेता नेपालले चर्चा गर्नुभएको छ । उहाँले थप्नुभएको छ, “हामीले पार्टी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरी राख्दै एमालेको नवौं महाधिवेशनको निर्णय एबम् पार्टी विधानअनुरुप पार्टी संगठनलाई पूर्ववत सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक छ ।”

नेता नेपालले जवाफमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिने शर्त अघि सार्नुभएको छ । फिर्ता लिएमा समस्या समाधान हुने बताउनुभएको छ । पार्टीका सबै संगठनहरु २०७५ जेठ २ अगाडिको संरचनामा कायम गर्नुपर्ने माग नेता नेपालले पुनः दोहोर्याउनुभएको छ । त्यस्तै, पार्टी नेताहरुलाई गरिएको सबै किसिमको कारवाही फुकुवा हुनुपर्ने माग नेपालले गर्नुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments