Tue. Apr 30th, 2024

ल्हासास्थित नेपाल महावाणिज्यदूताबासले पठाएका ६० कन्सन्ट्रेटर नेपाल ल्याइँदै

काठमाडौं, २०७८ जेठ २३ गते आईतबार । चीनको तिब्बत स्वायत्त प्रदेशस्थित गुडवील फाउण्डेसनलगायतका चिनियाँ संस्थाले नेपाललाई अनुदानमा दिएको ६० थान अक्सिजन कन्सन्ट्रेटर ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले काठमाडौँतर्फ पठाएको छ ।

ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकाललाई फाउन्डेसनका निर्देशक मा च्यानलेले महावाणिज्यदूतावास परिसरमा हस्तान्तरण गरेलगत्तै शनिबार ती सामग्री नेपालतर्फ पठाइएको हो ।

हस्तान्तरण कार्यक्रममा महावाणिज्यदूत नवराज ढकालले नेपालमा महामारी फैलिएदेखि चीन सरकार, तिब्बत स्वायत्त प्रदेश सरकारका साथै चिनियाँ सामाजिक संस्थाहरूले समेत महामारीविरूद्ध लड्न सहयोग गर्दैआएको बताउँदै सबै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो । उहाँले चीन र चिनियाँहरूले सहयोगका लागि देखाएको तत्परताले दुई देश र जनताबीचको कसिलो सम्बन्ध दर्शाएको बताउनु भयो ।

दाताको तर्फबाट फाउण्डेशनका निर्देशक माले नेपाल चीन मित्रतालाई जनस्तरबाट प्रवर्द्धन गर्न आफू कटिवद्ध रहेको भन्दै महामारीविरूद्धको नेपालको लडाइँमा चिनियाँ गैरसरकारी संस्थाहरुको तर्फबाट एक्ताबद्ध जनाउनु भयो । उहाँले भन्नुभयो, ‘हामीसँगै मिलेर महामारीविरूद्धको लडाइँ लड्ने छौँ । साथै चीन र नेपाल बीचको जनस्तरीय मैत्रीसम्बन्धमा नयाँ अध्याय लेख्ने छौँ ।’

पहिलो लहरको महामारीमा पनि फाउण्डेसनले गत वर्ष २ लाख ३० हजार मास्क दिनुका साथै समुदायस्तरमा १ सयभन्दा बढी हातधुने ठाउँ बनाइदिएको थियो ।

फाउण्डेशनले नेपालमा युवा तथा महिलाहरूलाई सीप तालिम दिनुका साथै भूकम्प पीडितलाई सहयोग र लोक कल्याणकारी कार्यक्रमहरू गर्दै आएको छ ।

महावाणिज्यदूत ढकालले सबै अक्सिजन कन्सन्ट्रेटर शनिबार दिउँसै तातोपानीका लागि पठाइसकेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराइसकेको बताउनु भयो ।

शनिबार नेपाल पठाइएका ६० मध्ये १० वटा कन्सन्ट्रेटर सिछुवान प्रान्तको ल सान सहरले दिएको हो । ल सान नगरपालिकाका विदेश मामिला प्रमुख श्रीमती छन्ले जनस्तरबाट प्राप्त कन्सन्ट्रेटर लुम्बिनी विकास कोशको लागि पठाइएको बताउनु भयो । नेपाल समाजसँग कुरा गर्दै उहाँले ल सान नगरपालिकाको तर्फबाट नेपाल पठाउने स्वास्थ्य सामग्रीको लागि पनि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो । विश्व सम्पदा सूचिमा सुचिकृत ल सान जाइन्ट बुद्ध स्मारक क्षेत्र र लुम्बिनी विकास कोषबीच भगिनी सम्बन्ध स्थापित छ ।

ल्हासास्थित महावाणिज्यदूताबासबाट सबै कन्सन्ट्रेटरको ढुवानी सिल्क ट्रान्सपोर्टले निःशुल्क गरिदिएको छ । चिनियाँ परोपकारी संस्थाप्रति आभार तथा महावाणिज्यदूतावासको प्रयासलाई सम्मान गर्न ती सामान काठमाडौँसम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाइएको सिल्क ट्रान्सपोर्ट तातोपानीका प्रमुख विजय शेर्पाले बताउनु भयो । सामान सिगात्चे सहरमा आइसकेको र अबको चार दिनमा काठमाडौँ पर्याइदिने उहाँले जानकारी दिनुभयो । नेपाल समाज अनलाईन

Facebook Comments