Tue. Apr 30th, 2024

पाकिस्तान सरकारको १० अर्ब रुखहरु रोप्ने घोषणाको बेलायती प्रधानमन्त्रीबाट प्रशंसा

काठमाडौं, २०७८ जेठ २३ गते आईतबार । पाकिस्तानले वातावरण संरक्षणको लागि १० अर्ब रुखहरु रोप्ने बताएको छ । पाकिस्तानमा आयोजना भएको विश्व वातावरण दिवस २०२१ कार्यक्रमको अवसरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा १० अर्ब वटा रुखहरु लगाउने घोषणा गर्नुभएको हो ।

सो अवसरमा बोल्नुहुँदै उहाँले सन् २०१३ मा आफ्नो सरकार आएसंगै पाकिस्तानको उत्तर-पश्चिमी प्रदेशको ख्याबर पख्तुवामा ६४ करोड रुखहरु लगाइएको र पछिल्लो पाँच बर्षको अवधिमा सोही इलाकामा १ अर्ब रुखहरु लगाइएको जानकारी दिनुभयो ।

बिस्तारै मासिदै गरेको जंगल र प्रदुषित हुदैँ गएको खानेपानीको अवस्थालाई ठिक गर्नुपर्ने भन्दै उहाँले आगामी १० बर्ष वातावरण रक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

यिनै कुराहरुलाई मध्यनजर गर्दै पाकिस्तानमा १० अर्ब रुख लगाउने उहाँले बताउनुभयो । प्रधानमन्त्री खानले घोषणा गर्नुभएको अभियान निकै महत्वपूर्ण र सम्मानयोग्य रहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनुभयो ।

पाकिस्तानमा आयोजना भएको विश्व वातावरण दिवस २०२१ कार्यक्रममा बेलायती प्रधानमन्त्री जोनसनले पाकिस्तानी प्रधानमन्त्रीले गर्नुभएको घोषणाको लागि उहाँले सेलुट (अभिवादन) गर्नुपर्ने समेत बताउनु भयो । एजेन्सी

Facebook Comments