सन् २०२९ मा सुपरसोनिक हवाई उडान गर्ने अमेरिकी वायुसेवाको घोषणा
युनाइटेडको नाम लेखिएको बुमको विमानको चित्र
काठमाडौं, २०७८ जेठ २२ गते शनिबार । अमेरिकाको युनाइटेड वायुसेवाले १५ वटा सुपरसोनिक विमान किन्ने योजना रहेको भन्दै सन् २०२९ मा हवाई उडानमा आवाजभन्दा छिटो गति फर्काउने घोषणा गरेको छ।
सन् २००३ मा ब्रिटिश वायुसेवा र एअर फ्रान्सले कन्कर्ड विमान उडाउन छोडेपछि सुपरसोनिक हवाई यात्रा टुङ्गिएको थियो। युनाइटेडले किन्ने भनेको ओभरटर विमान अमेरिकाको बुम नामक कम्पनीले निर्माण गर्ने छ। बुमले अहिलेसम्म विमानको परीक्षण उडान गरेको छैन। युनाइटेडको किन्ने सहमति सो विमानले सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेको अवस्थामा मात्रै लागु हुन्छ।
सुपरसोनिक उडान के हो?
विमानको गति आवाजको गतिभन्दा छिटो भएमा त्यसलाई सुपरसोनिक उडान भनिन्छ। यसको अर्थ ६० हजार फिटको उचाइमा १,०६० किलोमिटर प्रतिघण्टाभन्दा छिटो यात्रा गर्नु हो।

सामान्यतया विमानहरू सो उचाइमा ९०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्छन् तर बुमको जहाज १,१२२ किलोमिटर प्रतिघण्टा उड्ने अपेक्षा गरिएको छ।
त्यो गतिमा न्यूयोर्कबाट लन्डनसम्मको उडान समय आधा घट्ने बताइएको छ। बुमका अनुसार त्यो उडानको समय ३.५ घण्टा हुनेछ जुन अहिलेको उडान समयभन्दा तीन घण्टा कम हो। सन् १९७६ मा उड्न सुरु गरेको कन्कर्डको गति त्योभन्दा बढी अर्थात् २,१८० किलोमिटर प्रतिघण्टा थियो।
चुनौती के-के छन्?
सुपरसोनिक उडानका दुई प्रमुख चुनौती भनेका आवाज र प्रदूषण हो। आवाजभन्दा छिटो गतिमा उड्दा जमिनमा सोनिक बुम भनिने ठूलो विस्फोटको जस्तो आवाज सुनिन्छ। कम्पनीको नाम त्यसकै आधारमा राखिएको हो।
यस कारण ती विमान सबै क्षेत्रमा उड्न सक्दैनन्। सामान्यतया ती विमानले जमिनमाथि रहँदा मानिसहरूलाई ध्यानमा राखी कम गतिमा उड्नु पर्छ।
बुमले आफ्नो विमान उडान सुरु गर्दा, अवतरण गर्दा र जमिनमाथि हुँदा अन्य विमानभन्दा ठूलो आवाज ननिकाल्ने बताएको छ। उसले कन्कर्डको भन्दा मधुरो सोनिक बुमका लागि प्रयास गरिरहेको बताएको छ। अर्को ठूलो समस्या भनेको इन्धन आवश्यकता हो।
“सुपरसोनिक गतिमा जान धेरै ऊर्जा चाहिन्छ, त्यसका लागि धेरै इन्धन चाहिन्छ,” बुमकी प्रमुख व्यावसायिक अधिकृत क्याथी साभिटले भन्नुभयो । तर उहाँले ओभरटर शून्य कार्बन विमान हुने अपेक्षा गर्नुभयो । बिबिसी

