Thu. May 2nd, 2024

सरकारले सगरमाथा संवाद शुरु गर्ने, पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाइने

काठमाडौं, २०७८ जेठ २१ गते शुक्रबार । सरकारले सगरमाथा संवाद आयोजना निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको नियमित बैठकबारे जानकारी गराउनुहुँदै शुक्रबार सोको जानकारी गराउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नेपाल-भारत सरकारबीचको सहमतिमा जीटुजी प्रणालीबाट मल खरिद विक्रीको काम अघि बढाइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को पदाधिकारी मुकरर गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने निर्णय सरकारले गरेको छ । सोहीअनुसार हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताउनुभयो ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय गरेको छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । प्रेस काउन्सिलको अध्यक्ष पदमा पत्रकार बालकृष्ण बस्नेतलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ, सो सूचना विहिबार नै सार्वजनिक भइसकेको थियो । सञ्चार मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटलाई नयाँ ढङ्गले रुपान्तरण गरिएको मन्त्री गुरुङले बताउनुभयो । यसअघि परम्परागत ढङ्गले कार्यक्रम चल्ने भएपनि अहिले पहिलेभन्दा फरक ढङ्गले रुपान्तरण गरिएको जानकारी दिनुभयो ।

सरोकारवालाहरु सबै पक्षसँग आवश्यक छलफल गरी कार्यक्रम तय गरिएको र सोहीअनुसारको बजेट व्यवस्था गरिएकाले काम नयाँ ढङ्गले अघि बढ्ने विश्वास दिलाउनुभयो । कार्यक्रम जुन ढङ्गले अघि बढ्नु पथ्र्यो त्यसरी काम गर्न कोभिडले बाधा गरेको भएपनि काम राम्रो भइरहेको बताउनुभयो । आगामी वर्षको बजेटले नयाँ सन्देश दिएको र त्यसको कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने उहाँले चर्चा गर्नुभयो । बजेटको विरोधमा सानातिना विज्ञप्तीबाजी भएपनि सारमा त्यसको स्वागत नै भइरहेको उहाँले बताउनुभयो । बजेटको विभिन्न पक्षबाट स्वागत भइरहेको उहाँले जानकारी दिनुभयो ।

सञ्चारको क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिएको र त्यसको पत्रकार महासंघले समेत स्वागत गरेकोमा मन्त्री गुरुङले धन्यवाद व्यक्त गर्नुभयो । आमसञ्चारकर्मी र पत्रकारको हकहितका लागि बजेटले यथोचित सम्बोधन भएको उहाँले प्रष्ट पार्नुभयो । पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको आवश्यक बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । हिजो ‘विकासका लागि सञ्चार’ नारा तय गरिएको थियो, अब ‘समृद्धिका लागि सञ्चार’ नारा तय गरिएको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो । पत्रकार तथा सञ्चार माध्यमले अब मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको हितकालागि कोभिड खोपको पहल लिइरहनुभएको बताउनुहुँदै उहाँले त्यसको सबैले समर्थन गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनअघि सबै नागरिकलाई खोप लगाउने प्रधानमन्त्रीको प्रतिवद्धताअनुसार सरकारले काम गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । राष्ट्रपति भण्डारीमाथि पछिल्लो समय लगाइएको अनावश्यक आरोप र लान्छनाको मन्त्रालयको तर्फबाट मन्त्री गुरुङले दुःख व्यक्त गर्दै गैरजिम्मेवार नबन्न सबैमा आग्रह गर्नुभयो । गोरखापत्र अनलाईन

Facebook Comments