Mon. Apr 29th, 2024

निर्वाचन आयोगद्वारा जसपा अध्यक्ष ठाकुरसँग केन्द्रीय पदाधिकारीको हस्ताक्षर माग

काठमाडौं, २०७८ जेठ १९ गते बुधबार । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा पेश गर्नुभएको थियो । तर, उक्त पत्रमा केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले आयोगले माग गरेको हो ।

यसैगरी, हिजै अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको थियो ।

आयोगका प्रवक्ता श्रेष्ठले दुवै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता किताबमा रहेको विवरण सच्याउन पनि आग्रह गरेको जानकारी दिनुभयो ।

‘दुवै पक्षसँगै राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूचि १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेका छौं,’ उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘आज दुई पक्षलाई पत्र पठाएका छौं । यसका लागि सययावधि भने तोकिएको छैन ।’

दुवै पक्षले उक्त अनुसूचि १८ मा दलको विवरण हेरफेर भएको निवेदन दिने ढाँचामा समावेश गर्नुपर्नेछ । गोरखापत्र अनलाईन

Facebook Comments