Sat. Jun 29th, 2024

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपचुनाव आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय

काठमाडौं, २०७८ जेठ १७ गते सोमबार । आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपचुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने मतदानको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का गरि उपचुनावमा दुईजनाको उम्मेदवारी रहेको छ ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । यसैबीच सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चार जनाले पनि मताधिकार पाएका छन् ।

उहाँहरुलाई हिजो निर्वाचन आयोगले मताधिकार दिएको हो । जसपाले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई निर्वाचन आयोगले हिजो मतदानको अधिकारको निर्णय गरेको हो । यसअघि आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा उहाँहरुको नाम थिएन ।

यससँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् । यस्तै पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी दुई सय १७ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ ।

Facebook Comments