Sun. May 19th, 2024

राष्ट्रपति भण्डारीद्वारा रुसी समकक्षीलाई पत्राचार, खोप सहयोग गर्न आग्रह

काठमाडौं, २०७८ जेठ १६ गते आईतबार । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पनि पत्राचार गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप सहयोगको लागि अनुरोध गर्नु भएको छ।

उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपतकालीन प्रयोगको लागि मान्यता दिइसकेको छ । राष्ट्रपति भण्डारीले पुटिनलाई नेपाललाई खोप खरिदको लागि सहजीकरण गरिदिनको लागि पत्र पठाएको परराष्ट्र मन्त्रालयका एक पदाधिकारीले जानकारी दिनुभयो।

राष्ट्रपति कार्यालयले जेठ १४ गते (शुक्रबार) परराष्ट्र मन्त्रालय हुँदै पुटिनलाई पत्राचार पठाएको छ । तर उक्त पत्र मस्कोस्थित नेपाली राजदूतावासले रुसको विदेश मन्त्रालयमा गएर हस्तान्तरण गर्न अझै बाँकी रहेको छ ।

यसअघि राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, चिनियाँ राष्ट्रपति सी चिनफिङसँग र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि पत्राचार गरी नेपाललाई खोप सहयोग गर्नको लागि अनुरोध गर्नु भएको थियो। रे न्यूज डेली

Facebook Comments