Sun. May 19th, 2024

जेष्ठ नागरिकको मासिक भत्तामा बृद्धि, महामारीका बीचमा पनि अर्थतन्त्र राम्रो, प्रदेश र पालिकालाई दिइने अनुदानमा वृद्धि: अर्थ मन्त्री पाैडेल

- आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । सरकारले जेष्ठ नागरिकलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको भत्तालाई रु. ३ हजारबाट बढाएर रु. ४ हजार पुर्याएको छ । आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराउनु भएको हो ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले आर्थिक वृद्धिदरमा केहि समस्या रहे पनि अर्थतन्त्रका सूचक भने राम्रो रहेको दाबी गर्नुभयो ।

मूल्यवृद्धि, सरकारी खर्च, वैदेशिक सहायता, पुँजीबजार लगायतका सूचक सकारात्मक रहेको पौडेलको भनाइ छ । निर्यात  बढेको, वैदेशिक मुद्राको सञ्चिती राम्रो रहेको लगायतका विषय अर्थ मन्त्रीले बताउनुभएको छ ।

सरकारले प्रदेश र पालिकालाई दिने अनुदान बढाएको छ । आज घोषणा भएको बजेटमा समानीकरण अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब ९४ करोड र पालिकालाई  ९४ अर्ब ५६ करोड रुपैयाँ विनियोजन भएको छ ।

यस्तै ससर्त अनुदानमार्फत प्रदेशलाई ३५ अर्ब ८७ करोड  र पालिकालाई एक खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै समपूरक अनुदानतर्फ १२ अर्ब रुपैयाँ ३७ करोड र विशेष अनुदानतर्फ १२ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन भएको छ । राजस्व बाँडफाडतर्फ एक खर्ब २६ अर्ब ६९ करोड रुपैयाँ बाँडफाड हुने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

Facebook Comments