Sat. Nov 23rd, 2024

आज १४औं गणतन्त्र दिवस मनाइँदै

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज १४औं गणतन्त्र दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइँदै छ ।

संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी दिवस मनाइने गरिन्छ ।

२३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उच्चपदस्थ अधिकारीहरु सहभागी हुने कार्यक्रम रहे पनि यस वर्ष

नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।

वि.सं. २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गर्नुभएको थियो ।

वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीकाबीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

वि.सं. २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । वि.सं. २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता राजतन्त्रका विरुद्धमा सडकमा उत्रिए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत हुनुभयो। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठक समेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । सङ्घीय गणतन्त्र स्थापना पछिका १३ वर्ष सोचेजति र नागरिकले आशा गरेअनुसार उपलब्धि हासिल नभएको विश्लेषण हुँदै आएको छ ।

Facebook Comments