Mon. May 6th, 2024

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं, २०७८ जेठ १४ गते शुक्रबार । नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ ।

उनीहरु विरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी सुभास खड्काले बताउनुभयो । उनीहरुलाई शुक्रवारनैै प्रहरीले अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । भेरी अस्पतालमा उपचार गराईरहेका दाङका डिल्लीबहादुर रावतको बिहिबार राती मुत्यु भएपछि मृतकका भाई मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावत समेतले अस्पतालका नर्सिङ स्टाफ सुदिक्षा गैरेको घाँटी च्यापेर मार्न खोजेका थिए भने डा. चन्द्रप्रकाश शाहु, नर्सहरु बन्दना श्रेष्ठ र आश्वीनी गुरुङलाई सांघातीक आक्रमण गरेका थिए ।

उनीहरु आक्रमणकारीबाट ज्यान जोगाउन बाथरुमको झ्याल फोडेर पहिलो तलाबाट हाम्फालेर जोगिएका थिए ।
घट्नाका दोषीहरु विरुद्ध मुद्दा चलाइएपछि कारवाहीको माग गर्दै शुरु भएको स्वास्थ्यकर्मीको आन्दोलन पनि स्थगित गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकमा सांघातिक आक्रमणमा सहभागि भएका तीन जनालाई कडा कारवाही र स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गर्ने सहमति बनेको थियो ।

घट्नाको छानविन गरेर दोषीलाई कारवाही गर्न सहायक प्रजिअ शंकरबहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति समेत गठन भएको थियो । सो समितिले तीन दिनभित्रमा आफ्नो प्रतिवेदन बुझाउने छ ।घट्ना बारे जानकारी लिन शुक्रवार नै लुम्बिनि प्रदेशका प्रहरी प्रमुख पनि नेपालगञ्ज पुग्नु भएको छ । गोरखापत्र अनलाईन

Facebook Comments