Sat. May 18th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) सँग नेताहरुको भर्चुवल अन्तरक्रिया, कोभिड नियन्त्रणमा सहयोगको आग्रह

काठमाडौं, २०७८ जेठ १२ गते बुधबार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । कोभिड नियन्त्रणमा आपसी सहयोग गर्ने बारेमा भर्चुवल अन्तरक्रियामार्फत नेपाली राजनीतिक दलका नेताहरु चिनियाँ कम्युनिष्ट पार्टीसँग थप खोप तथा स्वास्थ्य सामग्री सहयोगको अपेक्षा गर्नुभएको छ ।

सीपीसीको अन्तर्राष्ट्रिय विभागको आयोजनामा बुधबार भएको भर्चुवल अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनबाट नेपालले पूर्ण भ्याक्सीन खोपको अपेक्षा गरेको बताउनुभयो । कोभिड १९ भाइरसबाट नेपाल आक्रान्त भइरहेकाले त्यसको नियन्त्रणका लागि चीन सरकारको आवश्यक सहयोग नेपालले अपेक्षा गरेको उहाँले बताउनुभयो । दुवै देशको आपसी सहयोग, साझेदारी र समन्वयले नेपाल–चीनबीचको सम्बन्ध दीगो हुने विश्वास पनि उपप्रधानमन्त्री पोखरेलले गर्नुभयो । चीनले कोभिड १९ मा गरेको सफलता विश्वका लागि उदाहरणीय रहेको पनि उहाँले बताउनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड नियन्त्रणका लागि चीन सरकारले खेलिरहेको भूमिका प्रसंशनीय रहेको र आगामी दिनमा पनि सहयोगको आग्रह गर्नुभयो । वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानसाथ सरकारले काम गरिरहेको उहाँले विश्वास दिलाउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कोभिड १९ संक्रमण बढेसँगै अक्सिजन, खोप लगायतका स्वास्थ्य सामग्रीको अभाव भएको जानकारी दिनुभयो । नेपाल–चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र आगामी दिनमा पनि सहयोग र सहकार्य कायम रहने विश्वास व्यक्त गर्नुभयो । कोभिड १९ संक्रमणमा चीनको सहयोग अपरिहार्य रहेको बताउनुहुँदै उहाँले चीनको मानवीय सहयोगको सराहना गर्नुभयो । चीन सरकारको तर्फबाट कोभिड खोपको अपेक्षा नेपाली जनताले गरेको पनि उहाँले जानकारी गराउनुभयो । नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका नेता नारायण खड्काले पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट मन्तव्य व्यक्त गर्नुहुँदै विश्वमा शान्ति र विकासका लागि चीनले खेलेको भूमिकाको चर्चा गर्नुभयो । काँग्रेस एक चीन नीतिमा प्रतिवद्ध रहेको जानकारी गराउनुहुँदै नेता खड्काले नेपाल–चीनबीचको दुई पक्षीय सम्बन्ध ऐतिहासिक रहेको बताउनुभयो । नेपालको आर्थिक विकासमा चीन सरकारको निरन्तर सहयोग रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो ।
कोभिड १९ संक्रमणका कारण नेपाल अहिले सङ्कटमा रहेको जानकारी गराउनुहुँदै नेता खड्काले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सहयोग गर्न चीन सरकारसँग आग्रह गर्नुभयो । कोभिड महामारी नियन्त्रणमा चीन सरकारले आवश्यक सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै नेता खड्काले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनले आर्थिक विकास र भौतिक संरचना विकासमा अत्यधिक सफलता प्राप्त गरेको चर्चा गर्नुभयो । नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको बताउनुहुँदै अध्यक्ष यादवले नेपालमा कोभिड १९ महामारी नियन्त्रणमा समस्या झेलिरहेको बताउनुभयो । कोभिड नियन्त्रणमा चीन सरकारको सहयोग जारी रहेपनि आगामी दिनमा थप सहयोगको अपेक्षा उहाँले गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिले कोभिड १९ विश्वकै लागि ठूलो चुनौति भएको चर्चा गर्नुहुँदै त्यससँग नेपाल पनि संघर्ष गरिरहेको बताउनुभयो । यस्तो संकटकाबेला चीन सरकारले आवश्यक मेडिकल सपोर्ट गरेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै अध्यक्ष विजुक्छेले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

राप्रपाका अध्यक्ष पशुपति शमशेर जवराले चीनले गरेको आर्थिक सफलताको प्रशंसा गर्नुहुँदै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । कोभिड १९ महामारीमा पनि चीनले छोटो समयमा सफलता प्राप्त गरेको चर्चा गर्नुहुँदै अध्यक्ष राणाले नेपाली जनताले पनि चीन सरकारको ठूलो सहयोग प्राप्त गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पनि आवश्यक स्वास्थ्य सामग्री चीन सरकारबाट उपलब्ध हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सीपीसीका नेताहरुले कोभिड १९ सँग नेपाल आक्रान्त भएको जानकारी रहेको र चीन सरकारको तर्फबाट आवश्यक रहयोग भइरहेको बताउनुभयो । आगामी दिनमा आवश्यक स्वास्थ्य सामग्री चीन सरकारको तर्फबाट सहयोग जारी रहने पनि उहाँहरुले प्रतिबद्धता जनाउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments