Sat. Jul 27th, 2024

अमेरिकाले दिएका सेनाका दुई स्काई ट्रक मध्यरातमा काठमाडौं अवतरण

काठमाडौं, २०७६ मंसिर २२ गते आईतबार ।

अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप उपलब्ध गराएका दुईवटा स्काइ ट्रक शनिबार राति काठमाडौंमा उत्रेका छन्।  अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराइएको हो।

दुईवटा जहाज भारत हुँदै आइतबार राति साढे दुई बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो। अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार पूर्वनिर्धारित तालिकाअनुसार आइतबार बिहान काठमाडौं अवतरण हुने कार्यक्रम रहे पनि अरु एयरपोर्टबाट उडान तालिकामा ढिलाइ नहुँदा राति नै काठमाडौं ल्याइएको हो।

विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि यी जहाजको प्रयोग हुनेछ। दुवै जहाजको औपचारिक हस्तानान्तरण पुस २ गते हुनेछ।

अहिले दुवै जहाजलाई नेपाली सेनाको ११ नम्बर बाहिनीअन्तर्गतको ह्‍यांगरमा राखिएको छ। समान ढुवानी र सुरक्षाकर्मीको खटनका लागि प्रयोग हुने दुवै जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्‍ने क्षमताका छन्।

पहिले बेलायतले दिएका दुईवटा स्काइ ट्रकमध्ये एउटा अप्रेशनमा छ भने अर्को बिग्रिसकेको छ। स्काइ ट्रक नहुँदा आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारमा समस्या हुँदै आएको छ।

नेपाली सेनासँग रहेका जहाज हेलिकोप्टरमध्ये १० वटा चालु हालतमा छन् भने सातवटा मर्मतका लागि ग्राउन्डेड छन्। एउटा एभ्रो जहाज र स्काइ ट्रक लिलामीको प्रक्रियामा छन्।

केही समयअघि मात्र सेनाले भीभीआइपी उडानका लागि विशेष हेलिकोप्टर ल्याए पनि त्यो संचालनमा आएको छैन। सेनाले हालै ल्याएको अर्को कार्गो जहाज पनि व्यवसायिक संचालनमा आएको छैन।

२०७४ पुस ६ गते सरकारले नेपाली सेनाका लागि यी दुई जहाज लिने निर्णय गरेको थियो। यी दुई जहाजको मूल्य २ करोड १८ लाख रहेको छ।

नेपाली सेनाले खरिद गरेको कार्गो जहाज गत कात्तिक १६ गते काठमाडौं आइपुगेको थियो। इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५-२२० विमानको मूल्य  ३० मिलियन अमेरिकी डलर रहेको छ।

त्यसैगरी भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ  हेलिकप्टर असोज २ गते काठमाडौं आइपुगेको थियो। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर करिब डेढ अर्ब रहेको छ। राष्ट्रपति, प्रधानमन्‍त्रीलगायत अति विशिष्ट व्यक्तित्वको विशेष सवारीका लागि प्रयोग गरिने उक्त हेलिकोप्टर सेनामार्फत संचालन हुनेछ।

Facebook Comments