Fri. Sep 20th, 2024

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय, हिँडडुलमा कडाइ

- किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने

काठमाडौं, २०७८ जेठ ११ गते मंगलबार । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भख्खरै सम्पन्न बैठकले आउँदो जेठ २० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अब  थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने भएको छ ।  यस अघि खुल्दै आएका किराना पसल, डिपार्टमेन्टल पनि बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार बैठकले निजी र सार्वजनिक निर्माणको काम बन्द गर्ने निर्णय गरेको छ ।

बिहान मनिङवाक र बेलुका वाक गर्न रोक र अनावश्यक रुपमा हिँड्नेलाई कारबाही जरिवाना हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्ने विषयमा आजको बैठकमा निर्णय भएको भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समय कोरोनाको सङ्क्रमणको दर अपेक्षित रुपमा घटन नसकेपछि जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरिएको हो ।

निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन निर्णय भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको गरिएको थियो ।

Facebook Comments