Sat. May 4th, 2024

साहित्यकार डा. वानिरा गिरीको निधन

काठमाडौं, २०७८ जेठ १० गते सोमबार । नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन भएको छ । उहाँको उपचारका क्रममा गएराति निधन भएको बानिरा फाउण्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो।

लामो समयदेखि मधुमेहको समस्या भाेग्नु भएकी गिरी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । उहाँको काठमाडौं नयाँ बानेश्वरको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रसाईँले जानकारी दिनुभयो ।

गिरीलाई कोरोना भाइरसको सङ्क्रमण पनि भएको थियो । २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा जन्मिएकी डा.गिरी छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न काठमाडौं आउनु भएको थियो । उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आबद्ध हुनुहुन्थ्यो ।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक भएपछि  उहाँले २०४२ सालमा पीएचडी गर्नु भएको थियो । डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । गिरीका श्रीमान, एक छोरी र एक छोरा हुनुहुन्छ ।

Facebook Comments