Mon. Apr 29th, 2024

एमालेका केही नेतालाई उकासेर सरकार बनाउने सपना कांग्रेसले देखिरहेको छ-प्रधानमन्त्री ओली

काठमाडौं, २०७८ जेठ ९ गते आईतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका केही नेतालाई उकासेर सरकार बनाउने सपना काँग्रेसले देखिरहेको बताउनु भएको छ । प्रेस चौतारी नेपालको आयोजनामा बालुवाटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भन्नुभयो, एमालेका केही नेतालाई उकासेर सरकार बनाउने सपना काँग्रेसले देखिरहेको छ । यो दलीय व्यवस्थालाई मजबुत बनाउने अभ्यास नभएको उहाँले बताउनुभयो । लोकतन्त्रमा क्षणिक स्वार्थमा कोही लाग्न नहुने उहाँले बताउनुभयो । दलीय अनुशासन, पद्धतिलाई भुलेर कोही अगाडि बढ्न नहुने उहाँले बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई व्यवस्थित गरी देशलाई विकासको बाटोमा अगाडि बढाउन सरकार लागिपरेको प्रधानमन्त्रीले बताउनुभयो । “अव देशलाई संविधानको सिर्जनात्मक प्रयोग गर्दै, लोकतन्त्रको सही ढङ्गले प्रयोग गर्दै, सुशासन कायम गर्दै विकासको बाटोमा अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो” प्रधानमन्त्री ओलीले थप्नुभयो, “केही शक्तिहरु लोकतन्त्र सिध्याउन, हिंसालाई अङ्गाल्न उद्दत रहेका छन्, त्यो समाधानको बाटो होइन ।”

आफूलाई प्रजातान्त्रिक शक्ति भन्नेहरुले पनि प्रचण्डपथमा हिडेको देख्दा आफूलाई ताजुव लागेको उहाँले टिप्पणी गर्नुभयो । “केपी ओलीले गराएको निर्वाचनमा भाग नलिने कुरा सुनिरहेको छुँ, कसले गराएको निर्वाचनमा भाग लिने हो ? यो कुन लोकतान्त्रिक अभ्यास हो ?” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली काँग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा लागिरहेको छ ।” जनताबाट निर्वाचित सबैभन्दा ठूलो दलको सरकारले गराएको निर्वाचनमा भाग नलिने हो भने कसले गराएको निर्वाचनमा जाने उहाँले जिज्ञासा गर्नुभयो ।

अरु पार्टीको अनुशासन तोडाएर, अनुचित हथ्कण्डा अपनाएर अगाडि बढ्दा हामी कहाँ पुग्छौं ? काँग्रेसतिर संकेत गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तोबेलामा नेपालका बुद्धिजिवीसमेत चुइँक्क बोल्न नसकेको देख्दा चिन्ता लागेको बताउनुभयो । लोकतन्त्र, पद्धति र प्रक्रियाको पक्षमा बुद्धिजिवीहरुले पनि सुझाव दिनुपर्ने उहाँले बताउनुभयो ।

“संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेकै कारण सरकारको सिफारिसमा उपधारा ७ बमोजिम नयाँ निर्वाचनको मिति तोकिएको हो, कहाँनिर असंवैधानिक भयो ?” जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संवैधानिक व्यवस्थाको अपब्याख्या गर्नेकाम उचित होइन ।”

बैठकमा प्रेस चौतारी नेपालका पूर्व इन्चार्ज राजेन्द्र गौतम, वर्तमान इन्चार्ज सूर्य थापा, अध्यक्ष गणेश बस्नेतसहित पार्टीका अन्य नेता तथा चौतारी आवद्ध पत्रकार र अन्य पत्रकारको सहभागिता थियो । गोरखापत्र अनलाईन

Facebook Comments