Sat. Jan 4th, 2025

संसदीय व्यवस्था असफल, अब जनमत संग्रहमा जानु पर्छः नेत्र विक्रम चन्द “विप्लव”

फाईल फोटो

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसद विघटन र मध्यावधि चुनावको घोषणाले संसदीय व्यवस्था असफल सावित भएको भन्दै वैज्ञानिक समाजवाद कि दलाल पूजीवाद भन्ने विषयमा जनमत संग्रहमा जानु पर्ने बताउनु भएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा लगत्तै एक विज्ञप्ति मार्फत विप्लवले सो विचार व्यक्त गर्नुभएको हो ।

लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको विप्लवद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई झन्‌ ठूलो अन्तरविरोध सङ्‌कटमा धकेल्ने चालमात्र भएको विप्लवको तर्क छ । जारी संकटको निकास निर्विकल्प रूपले समाजवाद मात्र हुने र यो पार्टीको मत, जनताको माग र चाहनासँग जोडिएको विप्लवको धारणा छ ।

संसद्‌वादी पार्टी, नेता र सरकार असफल भएकाले अब राज्यको संकटलाई उचित निकास दिने जिम्मा जनतालाई प्रदान गर्नुपर्ने तर्क गर्दै उहाँले जनतालाई नै दलाल पुँजीवाद या वैज्ञानिक समाजवाद रोज्ने जिम्मा दिनुपर्ने माग गर्नुभएको छ ।

जनमतसंग्रहका लागि दलहरू तयार हुने हो भने संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको पनि विप्लवले बताउनु भएको छ ।

Facebook Comments