Tue. Sep 17th, 2024

बहुमतको सरकार बनाउन १५३ सांसदको सूचीसहित प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति कार्यालयमा दाबी

- देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर

काठमाडौं, २०७८ जेठ ७ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार बनाउन १५३ सांसदको सूचीसहित राष्ट्रपति कार्यालयमा दाबी पेश गर्नुभएको छ । त्यसैगरी विपक्षी दलका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्रीको रुपमा स्थापित गर्न १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश गर्नुभएको छ

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार नेकपा (एमाले) बाट १२१ जना सांसद र जनता समाजवादी पार्टी (जसपा) नेपालका ३२ सांसदसहित १५३ सांसदको दाबी पेश गरिएको हो । जसपा नेपालको तर्फबाट संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरमा सांसदहरुको सूची उपलब्ध गराइएको छ । सो दलले केही दिनअघिमात्र संसदीय दलको नेतामा महतोलाई चयन गरिएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि बिहीबार साँझ आह्वान गर्नुभएको थियो । आज साँझ ५ बजेसम्म समयसीमा दिइएको भए पनि समय अगावै नै प्रधानमन्त्री ओलीले सो दाबी गरेर शीतल निवासबाट बालुवाटार फर्किसक्नुभएको डा.भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले दाबी गर्नुभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दलबलसहित शीतल निवास पुग्नुभएको थियो ।

नेता माधवकुमार नेपाल पक्षका २७ जनाको हस्ताक्षरसहित देउवा शीतल निवासमा दाबी पेश गर्न जानुभएको भनिए पनि एमालेका सांसदहरुले आफूहरुलाई जानकारी नै नदिई हस्ताक्षर दुरुपयोग गरिएको प्रतिक्रिया दिनुभएको छ । उहाँहरुको तर्फबाट विज्ञप्ति जारी गर्ने तयारी गरिएको एमाले स्रोतले बताएको छ ।

Facebook Comments