Tue. Apr 30th, 2024

आस्ट्राजेनेका खोप विकासमा संलग्न विज्ञहरूद्वारा नेपाललाई सहयोग गर्न अपील

काठमाडौं, २०७८ जेठ ७ गते शुक्रबार । अक्सफर्ड-आस्ट्राजेनेका खोपको अभावका कारण कोभिडविरुद्धको खोप अभियान अन्योलमा परेका बेला नेपाललाई सहयोग गर्न उक्त खोपको विकासमा सामेल विज्ञ तथा वैज्ञानिकहरूले अपील गरेका छन्।

कोरोनाभाइरस महामारीको घातक दोस्रो लहर झेलिरहेको नेपालका निम्ति तत्काल आवश्यक सहयोग गर्न ब्रिटेनका विज्ञहरूले त्यहाँको सरकारलाई अपील गरेका हुन्।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग भेटमा ‘नेपाली जनताको लागि आस्ट्राजेनेका खोप उपलब्ध गराउन अनुरोध’ गर्नुभएको हो ।

नेपालले खरिद गरेको १० लाख मात्रा खोप आपूर्ति गर्न बाँकी रहेको सीरम इन्स्टिट्यूटले भारतको अवस्थाका कारण खोप पठाउन नसक्ने बताएपछि नेपालको कोभिड खोप कार्यक्रम अवरुद्ध बनेको छ।

त्यसरी अपील गर्नेहरूमा अक्सफर्ड-आस्ट्राजेनेका खोप विकासमा संलग्न वैज्ञानिकहरू प्राध्यापक एन्ड्रू पोलर्ड, प्राध्यापक सेरा गिल्बर्ट तथा स्वास्थ्य अनुसन्धानकर्ता एवं ब्रिटिश सरकारलाई कोभिड-१९ बारे परामर्श दिने वैज्ञानिक सल्लाहकार समूहमा रहेका सर जेरेमी फरार समेत हुनुहुन्छ । बिबिसी

Facebook Comments