Tue. Sep 17th, 2024

आज जननेता मदन कुमार भण्डारी र जीवराज आश्रितको २८औं स्मृति दिवस

काठमाडौं, २०७८ जेठ ३ गते सोमबार । आज जननेता मदन कुमार भण्डारी र तत्कालिन नेकपा एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको २८औं स्मृति दिवस मनाईदैछ ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी र संगठन प्रमुख जीवराज आश्रित सडक दुर्घटनामा परेर निधन हुनुभएको सम्झनामा आज २८ औँ स्मृति दिवस मनाईदैछ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा मदन कुमार भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ ।

स्मृति दिवसको उपलक्ष्यमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत तथा सम्पूर्ण पार्टी पंक्तिका तर्फबाट उहाँहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय रहेको बताउनुभयो । नविन विचारकका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक जननेता स्वर्गीय भण्डारीले नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तरार्ष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवम् समीषामाथी आधारित भएर जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गर्नुभएको प्रधानमन्त्री ओलीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

Facebook Comments