Tue. Dec 24th, 2024

चिनियाँ भेरोसेल खोपको दोश्रो मात्रा उत्साहपूर्वक लगाईदै (फोटो फिचर सहित)

Chinese Vero Cell vaccine

काठमाडौं, २०७८ जेठ ३ गते सोमबार ।  कोरोना भाइरस विरुद्ध चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको सिनोफार्म कम्पनीको भेरोसेल खोपको दोश्रो मात्रा आईतबार (जेठ २ गते) देखि उत्साहपूर्वक लगाउन थालिएको छ ।

२०७७ चैत २५ गतेदेखि २०७८ बैशाक १५ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यहि जेठ २ गतेदेखि ११ गतेसम्म सो खोप लगाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । खोपको उचित व्यवस्थापन तथा वितरण गर्न काठमाडौं महानगरपालिकाका सम्पूर्ण वडाहरुमा खोप केन्द्र स्थापना गरिएको छ । त्यसैगरी काठमाडौंका सम्पूर्ण नगरपालिकाहरुमा पनि खोप केन्द्र स्थापना गरिएको छ । मन्त्रालयले चैत २५ गतेपछि कोरोना संक्रमण भएका र कोरोनाको लक्ष्यण देखिएका मानिसहरुलाई भने खोप नलगाईने बताएको छ ।

कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन काठमाडौं उपत्यकाका तिनै जिल्लाका मानिसहरु विहान सवेरैदेखि पायक पर्ने खोप केन्द्रमा पुगेका थिए । विहान १० वजेदेखि दिउँसो ४ वजेसम्म खोप लगाउने निर्धारित कार्यक्रम भए पनि अधिकांश खोप केन्द्रमा विहान ११ वजेदेखि मात्र खोप लगाउन सुरु गरिएको थियो ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउने क्रममा देखिएको भिडलाई व्यवस्थित गर्न यस पटक भने फरक फरक मितिमा खोप लगाउने व्यवस्था गरिएको छ । जसले गर्दा खोप केन्द्र सुरक्षित र व्यवस्थित बनाउन मद्दत पुगेको छ । प्रायजसो खोप केन्द्रमा पुग्ने मानिसहरुलाई कुपन वितरण गरिएकोले पनि मानिसहरुको घुईचोलाई व्यवस्थित गर्न सहयोग पुगेको स्थानीयवासीहरु बताउछन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चिनियाँ भोरोसेल खोपको दोश्रो मात्रा काठमाडौं उपत्यका सहित रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक लगायतका जिल्लामा पनि जेठ २ गतेदेखिनै सुरु गरिएको छ ।  मन्त्रालयका अनुसार भख्खरै उल्लेख गरिएका  जिल्लाका २ लाख ८८ हजार मानिसहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाईएको थियो ।

Facebook Comments