Fri. Sep 20th, 2024

बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउन मन्त्रालयको निर्देशन

- कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ हजार नाघ्यो

काठमाडौं, २०७८ जेठ २ गते आईतबार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक अक्सिजनको व्यवस्था अस्पताल आफैँले मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयको आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिरामीका आफन्तलाई अक्सिजनको व्यवस्था गर्न नलगाउन अस्पतालहरूलाई आग्रह गर्नुभयो । प्रवक्ता प्रा डा गौतमले बिरामीका लागि आवश्यक अक्सिजनको व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित अस्पतालको भएको बताउनुभयो ।

यसैबिच आज नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पिसिआर परीक्षणबाट ७ हजार ३ सय १६ जना तथा एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न प्रयोगशालामा गरी जम्मा १९ हजार ५ सय ३९ नमुनाको पिसिआर तथा ३ सय ४४ नमुनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो । प्रवक्ता प्रा. डा. गौतमले मन्त्रालयको आजको मिडिया विफ्रिङ्मा दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा १ हजार ८ सय ८१ जना ललितपुरमा ४ सय ३६ जना र भक्तपुरमा २ सय ९२ जना गरी काठमाडौँ उपत्यकामा जम्मा २ हजार ६ सय ९ जना संक्रमित थपिएका छन् ।
यसैगरी आज थप १ सय ४५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कूल सङ्ख्या ५ हजार १ पुगेको छ ।

यस्तै आज थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मुक्त हुने दर ७४ दशमलव ६ प्रतिशत रहेको र देशभरमा गरी जम्मा १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ७ हजार ८ सय ८ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो । रेडियो नेपाल

Facebook Comments