Mon. Dec 23rd, 2024

चीनले दिने स्वास्थ्य सामग्री हस्तान्तरण, आज काठमाडौं आइपुग्ने

काठमाडौं, २०७८ बैशाक २८ गते मंगलबार । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री चीनको राजधानी पैचिंगमा नेपाललाई हस्तान्तरण गरिएको छ । ती सामग्री आज काठमाडौं आइपुग्ने बताइएको छ ।

चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं.आरए-४२५१ को वाइडबडी जहाज चीनको राजधानी पैचिंग पुगेको हो । जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिइएको छ । स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो । गोरखापत्र अनलाईन

Facebook Comments