Sun. May 19th, 2024

नेपालले छिट्टै महामारीलाई पराजित गर्ने चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्यौङको विश्वास

काठमाडौं, २०७८ बैशाक २५ गते शनिबार । चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्यौङले नेपालले छिटै महामारीलाई पराजित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालस्थित रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेललाई विशेष सन्देश पठाउनु हुँदै महानिर्देशक शन हाई स्यौङले सो विश्वास व्यक्त गर्नुभएको हो । पत्रमा महानिर्देशक शन हाई स्यौङले केही दिनयता नेपालमा कोभिड-१९ महामारी भयावह बन्दै गएको तथा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ ।

“यसप्रति म धेरै चिन्तित भएको छु। यस सन्दर्भमा, म सम्पूर्ण नेपालीलाई सान्त्वना दिन चाहन्छु र भलो चिताउँछु। चीन र नेपाल असल छिमेकी तथा मित्र राष्ट्र हुन्। चिनियाँ जनता र नेपाली जनताबीच भाइचाराको सम्बन्ध रहेको छ, जुन छिमेकी मुलुकबीच गरिने आदानप्रदानको नमूना नै मानिन्छ। यस वर्षको मार्च महिनामा चीनले नेपाललाई कोभिड-१९विरूद्धको खोप प्रदान गरेको छ। हाम्रो दृढ विश्वास छ कि नेपाल सरकारको अडिग नेतृत्व र अन्तर्राष्ट्रिय समाजको ठूलो समर्थनमा नेपालले छिटै महामारीलाई पराजित गर्नेछ।” महानिर्देशक शन हाई स्यौङले भन्नु भएको छ ।

नेपालस्थित रे मिडिया ग्रुप चाइना मिडिया ग्रुप (सीएमजी)को दीर्घकालीन सहयोगात्मक साझेदार भएको बताउँनुहुदै उहाँले सीएमजीले नेपालस्थित रे मिडिया ग्रुप अन्तर्गतका रेडियो तथा अनलाइनसँग समाचार आदानप्रदान, कार्यक्रम आदानप्रदान आदि पक्षमा धेरै व्यवहारिक सहयोग गरेको समेत सन्देशमा उल्लेख गर्नुभएको छ।

“कोभिड-१९ महामारी प्रतिकारको महत्त्वपूर्ण अवधिमा सञ्चार माध्यमको निष्पक्षीयता तथा तर्कसँगत रिपोर्टिङलाई अङ्गाल्दै दुवै मिडियाले महामारीको प्रतिरोधको अनुभव बाँड्ने तथा महामारीको प्रतिरोध गर्ने विश्वासलाई दृढ बनाउन र सामाजिक डरलाई कम पार्ने क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।” सन्देशमा उहाँले भन्नु भएको छ ।

महानिर्देशक शन हाई स्यौङले सीएमजी रे मिडिया ग्रुपसँगको सहयोगलाई सबल बनाउन तथा सक्दो सहयोग र समर्थन गर्न इच्छुक रहेको पनि बताउनु भएको छ।

महानिर्देशक शन हाई स्यौङले सन्देशमा भन्नु भएको छ, “हामी महामारीलाई परास्त गर्नका लागि हातमा हात मिलाएर सञ्चार माध्यमले गर्नुपर्ने प्रयास तथा योगदानलाई जारी राखौँ। सबैको भलो होस्, शुभकामना।”

Facebook Comments